साहित्य

साहित्यकार–राजनीतिज्ञ भट्टको अभिनन्दन फागुन २३ मा

काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस) को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन आगामी फागुन २३ गते यहाँ हुने भएको छ ।

वरिष्ठ माक्र्सवादी चिन्तक भट्टको अभिनन्दनका लागि प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

समितिअन्तर्गत अध्यक्ष गिरीकै संयोजकत्वमा प्रकाशन, वासुदेव अधिकारीको संयोजकत्वमा आर्थिक, मातृका पोखरेलको संयोजकत्वमा व्यवस्थापन र आरएम डङ्गोलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

अभिनन्दनका अवसरमा प्रलेसका पूर्वअध्यक्ष भट्टको जीवनी, व्यक्तित्व र कृतित्वसम्बन्धी लेखरचना समेटेर अभिनन्दन ग्रन्थ र परिचय पुस्तिका पनि प्रकाशन गरिने छ । कृतिका लागि फागुन १० गतेसम्म लेखरचना पठाउन आयोजक समितिले लेखकहरुलाई आग्रह गरेको छ ।

विसं १९९३ असोज २५ गते पिता जयदेव र माता हीरादेवीको कोखबाट जुम्लामा जन्ममिएका भट्टका काव्य, समालोचना एवं समीक्षा, निबन्ध, दर्शन, भाषा र राजनीतिसम्बन्धी कृति र अनुवाद गरी १६ कृति प्रकाशन हुनाका साथै उनले केही साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् ।

उनले करीब ३५ वर्ष त्रिविअन्तर्गतका धनकुटा, सुनसरी, चितवनका कलेज, अङ्ग्रेजी केन्द्रीय विभागमा अध्यापन, त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशक रही सेवा गरेका थिए ।

विसं २००९ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनि नेकपा (एमाले) का बैतडी जिल्ला र सेती अञ्चल सचिव तथा संस्कृति विभाग सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष रही सक्रिय भएका थिए ।

दलीय गतिविधि र राजनीतिक–साहित्यिक आन्दोलनका क्रममा उनि पटकपटक गिरफ्तारमा परी कारागारमा रहेका थिए । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष समेत रहेका भट्टले केही पुरस्कारका लागि आर्थिक सहयोग पनि गरेका छन् ।

प्रलेसका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक गिरीले आफ्नो सक्रिय जीवनमा राष्ट्रका लागि निकै योगदान दिनुभएका प्रगतिशील व्यक्तित्वको जीवनकालमै अभिनन्दन गर्ने प्रलेसको नीति भएको जानकारी दिएका छन् ।

प्रलेसका पूर्वअध्यक्ष मातृका पोखरेलले भट्टले विसं २०२८ माघ १७ गते भरतपुर दियालो बङ्गलामा राजा महेन्द्रसँगको भेटमा (सोही दिन महेन्द्रको निधन) जनताको नासो प्रजातन्त्र जनतालाई नै सुम्पन आग्रह गरेको जानकारी दिएका छन् ।

प्रा केशव सुवेदीले भट्टसँग राजनीति, प्राध्यापन, साहित्य र दर्शनका अनेक ज्ञान र अनुभव भएको बताए ।

भट्ट अभिनन्दन प्रचारप्रसार उपसमितिका संयोजक डङ्गोलको अध्यक्षतामा बिहीबार बसेको उपसमितिको बैठकले छापा र विद्युतीय माध्यम खासगरी सामाजिक सञ्जालमा भट्टको व्यक्तित्व र कृतिको व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।