समाचार

खलो प्रथा कायमै, परिवार धान्न मुस्किल

दैलेख । आँगनभरि उछिट्टिएका अविछिन्न फलामका टुक्राहरु, रातो आगोको राप अनि धुवाँले गहभरि पसिना तैरिरहन्छन् । अझ भन्नुपर्दा फलामसँग जुध्नुपर्दाको पीडा त कति छ कति ! एक हातले फलामको कराँतीले फलाम नै समात्यो अनि एक हातले पिटिरह्यो दिनभर । गाउँको मूल बाटो मान्छे आवातजावत गरिरहन्छन् ।

सानो प्लास्टिकले छोएको छानो त्यहाँभित्र फलाम पोल्न प्रयोग गरिने यत्र–तत्र कोइला । आगो धुवाँउन प्रयोग गरिने पङ्खा बजिरेहको हुन्छ । विभिन्न रोगव्याधीले च्यापेको जीवनलाई फलामसँग जुधाइरहनुभएको छ, पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ का ६० वर्षीय स्थानीयवासी रणबहादुर विक । उनले केही समयअघिदेखि एउटा खुट्टा गुमाएको छ । एउटा खुट्टाको सहायतामा आरनमा काम गर्छन् उनी ।

आफ्ना रीतिबाली र बालबालिकालाई कसरी पाल्ने चिन्ताले उनलाई पिरोलिरहन्छ । बिहानदेखि साँझसम्म फलामसँगै लडेर आरनमै दिन बिताउने गर्दा उनको जीविकोपार्जनका रुपमा यही आरन व्यवसाय हो । उनको सयभन्दा बढी बालीघरे छन् । “बालीघरेले आरनमा औजार कराएबापत अन्नबाली दिन्छन्,” उनले भनिन्, “पुर्खादेखि नै हामीले यही पेशा अँगालेका छौँ ।” आफ्नो पुस्ताले पनि यो पेशालाई अँगाल्दै आइरहेको र आफू पनि जहान परिवारको जोहो टार्न यही व्यवसायमा लागेको छु, उनले भने ।

“पुस्तादेखि नै यही पेशाले जीवन गुजारे पनि अहिले यही पेशाले परिवार घान्न कठिन भएको छ”, उनले भने, “न्यून ज्यालामा औजार निर्माण गर्नुपर्छ, उनीहरुको (बालीघरे) इच्छा अनुसार वर्षमा दुईपटक पाउने थोरै अन्नपातमा गुजारा चलाउन गाह्रो भएको छ ।” “धेरै मिहिनेत गर्नुपर्ने यो व्यवसाय पुरानै परम्परामा आधारित छ । आरन सञ्चालनका लागि खलो प्रथा (माना पाथप्को परम्परा) र व्यवसाय पुरानै भएकाले आरन व्यवसायी मारमा परेका छौँ”, उनले भने ।

आरन व्यवसायलाई फस्टाउनकन लागि आधुनिक औजार भए आधुनिक आरनमा व्यवसायलाई थप व्यवस्थित गर्ने उनको सोच छ । आरनमा कुटो, कोदालो, हँसिया, बञ्चरो, फरुवालगायत किसानलाई दैनिकजसो अति नै आवाश्यक पर्ने सबैखाले औजार निर्माण गर्ने र पुराना कराउनको बालीघरे आरनमा औजार ल्याउने गर्दछन् । एक मुख्य समस्या भनेको नै कोइला गोला हो ।

कोइला राम्रो भयो भने फलामलाई कमलो पार्न सकिन्छ । पछिल्लो समय कोइला पाउन समस्या छ । दलित समुदायको यो पुर्खेली पेशा पछिल्लो समय बिस्तारै लोप हुने चिन्ता छ । उहाँका अनुसार यो पेशा अँगाल्नमा नयाँ पिँढी इच्छुक छैनन् । यो पेशा आधुनिकीकरण नहुनु र जताततै आधुनिक ग्रिल उद्योग सञ्चालनमा आएकाले यसको महत्व दिनानुदिन घट्दै गएको छ ।

प्रत्येक वडामा रहेका आरन व्यवसायीको समस्या पनि यही हो । महावु गाउँपालिका–४ का नामबहादुर कामीले पनि यो व्यवसायबाट परिवार चलाउन निकै कठीनाइ भएको बताए । ठाटीकाँध–१ का मेगे नेपालीले पनि लुगा सिलाएबापत न्यून ज्याला र केही माना पाथी अन्नबाली दिने प्रथाले परिवार चल्न गाह्रो भएको बताए ।

आरन व्यवसायमै जीविकोपार्जन गर्ने जिल्लाभर थुप्रै आरन व्यवसायी अहिले मारमा परेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए । आरन व्यवसायलाई आधुनिकीकरण गर्नुपर्नेमा उनको जोड छ । खलोबाट गुजारा चलाउँदै आएका दैलेखका विभिन्न ठाउँमा रहेका थुप्रै दलित, नेपाली, सार्की, टमट्टा परिवार लुगा सिलाउने, फलाम पिटेर कुटो, कोदालो, बञ्चरो, हँसियालगायत कृषि औजार निर्माण गरी जीविकोपार्जन गर्दै आएका छन ।