अन्तर्राष्ट्रिय

बुटिगीग र स्यान्डर्सबीच कडा प्रतिस्पर्धा

एजेन्सी । डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा सम्पन्न प्रारम्भिक चुनावमा इन्डियाना राज्यको साउथ बेन्डका पूर्व मेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सबीच कडा प्रतिस्पर्धा जारी छ । कम्प्युटर प्रविधिमा देखिएको समस्याका कारण मतगणनामा ढिलाई भएको छ ।

करिब ९७ प्रतिशत मतगणना हुँदा ३८ वर्षीय बुटिगीगले २६.२ प्रतिशत मत प्राप्त गरेको छ । अर्का प्रतिस्पर्धी सिनेटर स्यान्डर्सले २६.१ प्रतिशत मत प्राप्त गरेको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार चयन गर्न भइरहेको यस चुनावमा निकै प्रभावशाली आँकलन गरिएका पूर्व उपराष्ट्रपति जो बाइडेन निकै पछाडि छन् । चौथो स्थानमा रहनु भएका बाइडेनले १५.८ प्रतिशत तथा सिनेटर एलिजाबेथ वारेनले १८.२ प्रतिशत मत प्राप्त गरेको छ ।

आयोवाको चुनावी नतिजामा ढिलाई भइरहे पनि मुख्य प्रतिस्पर्धीहरु जो बाइडेन र बुटिगीगले अर्को राज्य न्यू ह्याम्पसायरमा चुनावी प्रचारलाई तिब्र पारेको छ । यहाँ यही फेब्रुअरीमा चुनाव हुँदैछ ।

आयोवाको प्रारम्भिक चुनाव अघि खासै चर्चामा नरहेका बुटिगीगको लोकप्रियताले सबैलाई आश्चर्यचकित पारेको छ । सर्वेक्षणहरुले आयोवामा सिनेटर स्यान्डर्स नै विजयी हुने देखाएका थिए ।