उर्जा

अरुण तेस्रोमा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

काठमाडौँ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा नेपाली बैंकले रु १५ अर्ब बढी लगानी गरेका छन् भने बाँकी रु ८५ अर्ब लगानी भने भारतीय बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी स्थापना गरेको छ । आयोजनाको हाल २५ प्रतिशत भौतिक प्रगति भएको छ । कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन भएपछि परियोजनाले थप गति लिने विश्वास गरिएको छ ।

एसजेभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानका अनुसार आयोजनामा नेपालका एभरेष्ट र नबिल बैंकले रु १५ अर्ब ३६ करोड लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस्तै भारतीय बैंकहरु स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय आयात निर्यात बैंक (एक्जिम) ले रु ८५ अर्ब ९७ करोड ८८ लाख ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब रु २५ अर्ब स्वपूँजीका रूपमा लगानी गरेको छ । सोही पैसाले नै हाल आयोजनाको काम भइरहेको छ ।

आयोजनाको कूल लागत रु एक खर्ब १५ अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । आयोजनाको संरचना निर्माणका लागि रु एक खर्ब चार अर्ब तथा रु ११ अर्ब रकम भने प्रसारण लाइन निर्माणका लागि खर्च गरिनेछ । नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिकरूपमा ऋण लगानी सम्झौता गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले बुधबार नै वित्तीय व्यवस्थापनका प्रवद्र्धक कम्पनीलाई स्वीकृति दिएको छ ।

नेपालमा लगानी ल्याउन भारतीय रिजर्भ बैंकले समेत अनुमति दिएको छ । आयोजना आगामी २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना आगामी २५ वर्षपछि चालू अवस्थामा नै नेपाल सरकारले प्राप्त गर्नेछ ।

त्यस्तै प्रसारण लाइन निर्माणका लागि समेत भारतको पञ्जाब नेशनल बैंकले रु आठ अर्ब लगानी गर्ने यसअघि नै सहमति भइसकेको छ । परियोजना विकास सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निशुल्क प्राप्त गर्नेछ ।

आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा २०७५ चैत १६ मा सम्झौता भएको थियो । प्रवद्र्धक एसजेभिएनले सङ्खुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ ।

वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुनेछ । सतलजभन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतलजको भने निर्माण प्रगति एवं वित्तीय व्यवस्थापनसमेत गरेर आयोजनालाई गति दिएको हो । शुरुमा आयोजनाको लागत रु एक खर्ब चार अर्ब हुने भनिए पनि विभिन्न कारणले लागत बढेर रु एक खर्ब १५ अर्ब जति पुगेको छ ।

लगानी बोर्ड र सतलज विद्युत् निगमबीच २०७१ साल मङ्सिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) भएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हाल आयोजनाको बाँध तथा सुरुङ मार्ग निर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले २०७५ वैशाखमा स्वीच थिचेर आयोजनाको शिलान्यास गरेको थियो ।

हाल आयोजनाको प्रसारण लाइन निर्माणको समेत काम शुरु भएको छ । केही जिल्लामा प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरणको कामसमेत भइसकेको छ । आयोजना स्थल सङ्खुवासभाबाट, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । सो प्रसारण लाइन २१७ किलोमिटर लामो हुनेछ । प्राधिकरणले निर्माण गरिरहेको ढल्केबरस्थित ४०० केभी क्षमताको सवस्टेशनमा विद्युत् जोडिनेछ । सोही सबस्टेशनबाटै नेपालले पाउने विद्युत् लिनेछ भने बाँकी विद्युत् भारत लगिनेछ ।

वित्तीय व्यवस्थापन समारोहमा नेपाल र भारतका बैंकका उच्च अधिकारी उपस्थित थिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ठूलो आयोजनामा लगानी गर्न पाउनु आफूहरुका लागि पनि गौरवको विषय भएको बताए ।

निर्माणधीन आयोजनामा करिब तीन हजारले रोजगारी पाएका छन् भने स्थानीयवासीलाई मासिक ३० युनिट विद्युत् निशुल्क पाउने व्यवस्था गरिएको छ । अरुण तेस्रो आयोजनाबाट नेपालले २५ वर्षमा कूल रु तीन खर्ब ४८ अर्ब राजश्व पाउने गरी परियोजना विकास सम्झौता गरिएको छ ।