शिक्षा

जोड्दै छ पठनपाठनलाई प्रविधिले

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा (टेलीटिचिङ) प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एक÷एक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाल पढाउने गरेका छन् ।

अध्ययनका लागि त्यहाँ पुगेका उनले भाषा र संस्कृतिको बारेमा विद्यार्थीलाई सिकाउने बताइएको छ । टेलीटिचिङ कक्षा सञ्चालन गर्न दक्षिण कोरियाको टेलिकमले विद्यालयको एउटा कोठामा अत्याधुनिक प्रयोगशाला तयार गरिदिएको छ ।

कक्षा कोठाको अगाडि ७२ इञ्जको एलइडी मनिटर राखिएको छ । छेउमा वेभ क्यामेरा जडान गरिएको छ । इन्टरनेट जडान गरेपछि वेभ क्यामेराको माध्यमबाट सिकाउने गरेको कम्प्युटर शिक्षक टकबहादुर पुनले जानकारी दिएका छन् ।

‘टेलीटिचिङ गराउन पाँच एमबिपिएस क्षमताको इन्टरनेट जोडेका छौँ”, उनले भने, “वेभ क्यामेरा र इन्टरनेटबाट फरक फरक ठाउँमा भएका शिक्षक र विद्यार्थीले साक्षात्कार गरेर पढ्छन् ।” एलइडीको पर्दामा शिक्षक र विद्यार्थीको दृष्य एक अर्काले देख्न सक्छन् ।

आवाज पनि सुनिन्छ । आमनेसामने भए जसरी नै कुराकानी गर्छन् । कक्षा ११ का २२ र १२ का १९ विद्यार्थी टेलीटिचिङमा सहभागी भएका छन् । भौगोलिक हिसाबले धेरै टाढा भएका शिक्षकले पनि गाउँमा रहेका विद्यालयमा पढाउँदा दङ्ग परेको विद्यार्थी सनम सुनारले बताए ।

छात्रा सन्ध्या श्रेष्ठले कक्षा कोठामा शिक्षकको भौतिक उपस्थिति जस्तै हुने अनुभव सुनाएका छन् । पर्दामा पुस्तकका साथै दृष्य हेर्दै र अडियो सुन्दै पढ्दा समय बितेको पत्तै नहुने कक्षा ११ का गौतम विकले बताए । दक्षिण कोरियाको भाषा, संस्कृति र रहनसहनको बारेमा पढीरहेका छन् ।

कक्षा कोठामा शिक्षकको भौतिक उपस्थिति बिनै प्रविधिको प्रयोग गरेर फरक ठाउबाट पनि पढाउन सकिने विद्यालयका प्रअ किसन पुनले बताए । “अहिले परीक्षणको क्रममा छौँ”, उनले भने “विषयगत शिक्षक नभएको विद्यालयमा टेलीटिचिङबाट पढाउन सकिन्छ ।” विद्यार्थीको पढाइप्रति रुचि बढेको छ ।

विद्यालयलाई टेलीटिचिङका साथै भवन र कम्प्युटर ल्याब सञ्चालन गर्न पनि दक्षिण कोरियाको अम हङ गिल फाउण्डेशनले सहयोग गरेको छ । मासिक रु २७ हजार इन्टरनेटको शुल्क तिर्न पनि संस्थाले नै सहयोग गरेको छ ।

फाउण्डेशनको सहयोगमा नौ कोठे भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष वुद्धि पुनले बताएका छन् । यसअघि १६ ल्यापटप सहयोग गरेको संस्थाले थप २१ उपलब्ध गराउन लागेको छ । कक्षा ६ देखि ९ सम्म कम्प्युटर विषयको पठनपाठन हुन्छ ।

कक्षा १ र २ मा अङ्ग्रेजी माध्यमबाट पढाउने गरिएको सहायक प्रअ गोविन्द थापाले जानकारी दिएका छन् । कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २६१ विद्यार्थी अध्ययन गर्दछन् ।

आठ हजारमाथिका सबै हिमाल चढेका दक्षिण कोरियन नागरिक अम हङ गिलले फाउण्डेशन स्थापना गरेका थिए । सो फाउण्डेशनले नेपालका १६ विद्यालयमा पूर्वाधार र प्रविधि सहयोग गरेको जनाएको छ ।