प्रदेश 2

विपद् प्रतिकार्यमा समुदायलाई सक्षम बनाईँदै

सप्तरी । विपद्का अवस्थामा उद्धार कार्यमा समुदायको थप क्षमतालाई कसरी बढाउने भन्ने ध्येयले नेपाली सेना,भीमदलगणले यहाँ विपद् प्रतिकार्य तालीम शुरुआत गरेको छ । गणले तीन वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा तीनदिने सामुदायिक विपद् प्रतिकार्य तालीम शुरु गरेको हो ।

बाढीपहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न तिलाठीकोइलाडी गाउँपालिकाका स्थानीय तहका ५५ लाई विपद् प्रतिकार्य तालीम प्रदान गरिरहेको भीमदलगणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले विपद्बाट अतिप्रभावित गाउँपालिका रहेको हुँदा युवालाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको बताए । विपद् जोखिममा रहेको तिलाठीमा हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न पूर्वतयारी आवश्यकता रहेको तिलाठीकोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्रले उल्लेख गरेका छन् ।

गाउँठाउँमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाइएको उद्धार सामग्री प्रतिकार्य तालीममा प्रयोग गरी सिकाइने प्रशिक्षक हरिप्रसाद जैसीले जानकारी दिए । “ड्रमबाट बनाइने उद्धार सामग्री बढी खर्च लाग्ने भए पनि भरपर्दो हुन्छ”, उनले भने, “म्याट र बोतलबाट बनाइने सामग्री भने व्यक्तिगत रुपमा पनि निर्माण गर्न सकिन्छ ।”

तालीममा नेपाली सेनाको १ नम्बर विपद् व्यवस्थापन गण सुन्दरीजल काठमाडौँका जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठीकोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।