अन्तर्राष्ट्रिय

साउदी अरबमा बर्डफ्लु भेटिएको पुष्टि

एजेन्सी । साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो ।

अहिले घटनास्थल र अन्य शङ्कास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ । उनीहरुले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान भइरहेको पनि जनाएका छन् । साउदी अरबका कृषि अधिकारीहरुले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा भने कुनै खतरा नरहेको दाबी गरेका छन् ।

साउदी अरबको एउटा पत्रिकाले लेखेको समाचारअनुसार बेलैमा थाहा पाएर नियन्त्रणका उपायहरु तत्काल अपनाउन सकिएकाले थप फैलिन नपाएको अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अबा अल खाइलले बर्डफ्लुको भाइरस सङ्क्रमण भएको चरालाई नष्ट गरिसकिएकाले अब मानिसमा फैलिने सम्भावना नरहेको जानकारी दिएका छन् ।