खेलकुद

आइसिसी विश्वकप लिग दुई : नेपाललाई १९८ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै १९७ रन बनायो । यस क्रममा ओमानका मोहम नदिमले ६९ रन बनाए । उनले दुई छक्का र पाँच चौका प्रहार गरे ।

यस्तै सन्दीप गौडले ३३, नशिम खुशीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाए । बलिङतर्फ नेपालका लागि करन केसीले चार, सुशन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । आजको खेलमा सन्दीप लामिछानेले भने दर्शकलाई निराश पारे । उनले कुनै विकेट लिन सकेन । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले आठ ओभर खेल्दै दुई विकेट गुमाएर १२ रन बनाएको छ । नेपालका पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । पारसले तीन तथा ज्ञानेन्द्रले एक रनमात्र बनाए ।