प्रदेश 1

ठुलो आर्थिक लगानी भन्दा पेशालाई निरन्तरता दिन सके मनग्य आम्दानी गर्न सकिन्छ

उदयपुर । सामान्य आर्थिक लगानी गरेर पनि निरन्तर पेशामा आबद्ध हुन सके आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, गाईघाटका भीमप्रसाद लिम्बू ।

विसं २०६१ मा इलामको माङसेबुङबाट उदयपुरको सदरमुकाम गाईघाटमा आएर २०६२ सालबाट रु २५ हजारको लगानीमा समान्य बेकरी मिठाइको व्यापार शुरु गरेका ३९ वर्षीय लिम्बू अहिले रु तीन करोड बराबरको मालिक बन्न पुगेको छ । १५ वर्ष अघि गाईघाट आएका लिम्बूले शुरुमा २५ हजारको लगानीमा बेकरी मिठाइ पसल शुरु गरे । पछि २०६४ सालबाट पाथीभरा दूधडेरी उद्योग स्थापना गरेर व्यापारिक कारोवर गर्दै जाँदा अहिले आफूले रु तीन करोडको पूँजीको विकास गरेको लिम्बू बताए ।

गाउँकै विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेका लिम्बूले शुरुमा छुर्पी बनाउन तथा मिठाइ बनाउने काम गाउँमा नै सिकाए । एक÷दुई वर्ष गाउँमा नै सामान्य व्यापार गर्न सिकेर उदयपुरको गाईघाट आएपछि आफ्नै लगानीमा व्यापार शुरु गरेको उनी बताउछन् । “गाउँमा नै छुर्पी र मिठाइ बनाउन सिकेपछि आफूले मिठाइ र छुर्पी व्यापारबाट केही गर्छु जस्तो लाग्यो । गाईघाट आएर रु २५ हजारको लगानीमा मात्र यो पेशा शुरु गरेको हुँ”, उनी भने, “कमाइ गर्दै जाँदा २०६४ सालमा थप आर्थिक लगानी गरेर गाईघाटमा दुधडेरी उद्योग सञ्चालन गरें । यसबाट विस्तारै कमाइ पनि राम्रो हुँदै आएको छ ।”

अहिले आफूले सञ्चालन गरेको पाथीभरा दुधडेरी उद्योगमार्फत दैनिक तीन हजार लिटरभन्दा माथि दूध सङ्कलन गरेर बिक्री गर्ने कार्य भइरहेको र दैनिक रु एक लाखभन्दा बढीको आर्थिक कारोवार यस व्यवसायबाट हुने गरेको लिम्बू बताए । यस्तै दैनिक रु २५ हजार भन्दा माथि छुर्पी र बेकरी मिठाइको व्यापार हुने गरेको उनी बताए । अहिले उदयपुरमा नै लिम्बूको मिठाइ तथा बेकरी बिक्री र दूधडेरी सञ्चालन पहिलो नम्बरको व्यापारमा रहेको गाईघाटका लिम्बूकै छिमेकी होटल व्यवसायी कृष्ण श्रेष्ठ बताउछन् ।

उदयपुर होटल व्यवसायी सङ्घका अध्यक्षसमेत रहनुभएका कृष्ण श्रेष्ठ भन्नुहुन्छ, “सानो फुच्चे केटा इलामबाट गाईघाट आएर जिल्लामा नै पहिलो पटक बेकरी मिठाइ तथा छुर्पीको पसल सञ्चालन गरे, यस्तै जिल्लामा नै पहिलो पटक दूधडेरी सञ्चालन गरेर अरुलाई पनि दूधडेरी सञ्चालन गर्न प्रेरणा दिए, आज गाईघाटमा यतिका ठूलो कारोवार गरेर लिम्बू जिल्लाकै पहिलो उद्यमी बन्न सफल भएका छन् ।”

लिम्बूबाट अरु युवाहरुले पनि व्यवसाय गरेर स्वरोजगार बन्न सिक्नुपर्ने धारणा अध्यक्ष श्रेष्ठको छ । लिम्बूको दूधडेरी तथा बेकरी मिठाइ पसलमा अहिले १५ जनाले रोजगारी पाएका छन् । तीन वटा दूध तथा विभिन्न समान ढुवानी गर्ने ओसार्ने आफ्नै निजी ठूला गाडी रहेको लिम्बू बताए । दूध प्याकिङ गर्नेदेखि बेकरी बनाउने मेसिन गरी आधा दर्जन आधुनिक मेसिन व्यवस्थान गरेर सञ्चालन गरेको लिम्बूको पाथीभरा दूधडेरी जिल्लाकै सबैभन्दा ठूलो पहिलो दूधडेरी उद्योगको रुपमा रहेको लिम्बू बताउछन् । यसै व्यवसायबाट लिम्बूले गाईघाटमा झण्डै दुई कठ्ठा जग्गामा डेड करोडभन्दा बढीको लगानीमा निजी आवास घर निर्माण गरिसकेको र सुनसरीको इटहरीमा समेत घर जग्गा खरिद गरेर राम्रो कमाइ गरिसकेको उनी बताउछन् ।

उनीको दूधडेरी तथा बेकरी उद्योगमा काम गरेबापत आफूले प्रतिमहिना रु २० हजार पारिश्रमिक पाउने गरेको मजदूर कर्णबहादुर खत्री बताउछन् । लिम्बूको डेरी तथा मिठाइ पसलमा काम गर्ने मजदूरले न्यूनतम १० हजारदेखि २५ हजारसम्म मासिक तलब पाउने गरेका छन् । गाईघाट उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष भरतसिंह राई भन्नुहुन्छ, “लिम्बू भाईले शुरुदेखि नै कडा संघर्ष गरिरहेको मैलै देख्दै आएको छु, अहिले जिल्लाकै अब्बल मिठाइ बेकरी व्यापारी र दूधडेरी सञ्चालक बन्न सफल भएका छन्, धेरैलाई रोजगारी दिन सफल भएका छन्, सबै नेपाली युवाले लिम्बू भाईबाट कसरी पेशा व्यवसाय र उद्यम गर्नुपर्दछ भन्ने कुरा सिक्न पर्दछ ।”

अन्य बेरोजगार युवाले पनि विदेशमा गएर दःुख गर्नुभन्दा स्वदेशमा नै केही संघर्ष गर्न सके स्वरोजगार मात्र हैन आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा लिम्बूबाट सिक्नुपर्ने गाईघाटका समाजसेवी कृष्ण घिमिरे बताउछन् ।