आर्थिक

शनिबारे हटियालाई गरियो व्यवस्थित !

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र चिसापानी बजारमा लाग्ने शनिबारे हटियालाई व्यवस्थित गरिएको छ । छिमेकी जिल्ला भोजपुरको समेत व्यापारिक केन्द्र रहेको चिसापानीको परम्परागत शनिबारे हटियालाई गाउँपालिकाको रु ११ लाख लगानीमा आधुनिक रूप दिइएको हो ।

हप्ताको एकपटक शनिबारमात्र हटिया लाग्ने वडा नं ५ चिसापानीस्थित हटियाडाँडाको पुरानो चित्राको छाप्रो हटाएर व्यवस्थित बधशाला, अन्नपात तथा फलफूल बिक्री केन्द्र, तरकारी तथा कुखुराको भाले, सुँगुरको पाठा, फेन्सी कपडा लगायतका लागि छुट्टाछुट्टै बिक्री केन्द्र बनाइएको छ ।

वर्षौंदेखि हावा र धुलोमा बसेर व्यापार गर्दै आएका व्यापारी व्यवस्थित हटिया बनेपछि हर्षितसमेत भएका छन् । वर्षौंदेखि पाखोडाँडामा लाग्दै आएको शनिबारे हटियालाई व्यवस्थित गर्न गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए ।

“चिसापानीमा लाग्ने शनिबारे हटियामा विशेषगरी अग्र्यानिक कृषि उपज खरिद तथा बिक्री हुने गर्दछ”, उनले भने , “कृषकले उत्पादन गरेको कृषि उपज सहजरूपमा बिक्री गर्ने वातावरण मिलाउँदै स्थानीय हाटबजारलाई करको दायरामा ल्याउन परम्परागतरूपमा सञ्चालन हुँदै आएको हटियालाई व्यवस्थित गरिएको हो ।”

हटियामा दाल, चामल, कुखुराको भाले तथा अण्डा, सुँगुरको पाठापाठी, गुन्द्रुक तथा सिन्की, मकै तथा कोदो, सागसब्जी, विभिन्न प्रजातिका फलफूल, माछा तथा मासुलगायत खरिद तथा बिक्री हुने गरेको छ ।

जिल्लाका अन्य हाटबजारभन्दा सुलभ मूल्यमा पाइने कृषि उपज चिसापानीस्थित शनिबारे हटियाबाट खरिद गरेर तराईका विभिन्न जिल्लामा समेत निर्यात हुन थालेको स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवानेता पूर्ण राईले जानकारी दिएका छन् ।

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालन भएपछि चिसापानीमा लाग्ने हटिया भरेर करीब तीन घण्टामा तराईका विभिन्न जिल्ला पुग्ने गरेका छन् ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने चिसापानीबजार हिउँदभर राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ । छिमेकी जिल्ला भोजपुरको वासिङथर्पु, इँहु, बालाङ्खालगायत स्थानीयवासी पैदलयात्रा गरेर चिसापानीको हाट भर्न आउने गरेका छन् ।

हटियामा हुने कालोबजारी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।

दिक्तेल बजार ढलान हुँदै

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलान हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा दिक्तेलबजारस्थित रत्नपार्कदेखि हाटडाँडासम्मको सडक ढलान गरिने भएको हो ।

क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेलबजारको सडक ढलानमा शहरी विकास तथा भवन निर्माण विभाग विराटनगरमार्फत यो वर्ष रु पाँच करोड खर्च हुने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

“दिक्तेलबजारको सडक ढलानमा करीब रु १५ करोड रकम खर्च हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ”, उनले भने, “क्रमागत योजना भएकाले यस वर्ष रु पाँच करोड बजेटको मात्र बोलपत्र आह्वान गरेर ढलानको काम शुरु गरिनेछ ।”

अर्थ मन्त्रालयले गत पुस २९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । त्यसपछि शहरी विकास मन्त्रालयले मातहतका शहरी विकास तथा भवन निर्माण विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्रमार्फत निर्देशन गरेको हो ।

दिक्तेल बजारको सडक ढलानमा बजारमा भएका पुरानो संरचनाका घरहरुको बार्दली, पेटी, टहरालगायत जोखिम देखिन्छ । लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको साँघुरो सडक मापदण्ड विपरीत हुने भएकाले यसको विकल्पसमेत अपनाउनुपर्ने अवस्था देखिएको छ ।

दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक–पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।

साँघुरो सडकका कारण यसअघि विद्यालय जाँदै गरेका एक विद्यार्थीको ट्र्याक्टरले किचेर मृत्युसमेत भएको थियो । सवारीसाधनको जथाभावी पार्किङ, निर्माण तथा व्यापारिक सामग्री यत्रतत्र राखिनाले पटक–पटक दुर्घटना हुँदै आएको छ ।

यस वर्ष सडक ढलानमा देखिने सबै समस्यालाई नगरपालिकाका तर्फबाट समाधान गरेर जुनसकै हालतमा ढलानको कामलाई सफल पारिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए ।

दिक्तेल बजारको मुख्य सडकसँगै आसपासको शाखा सडकसमेत यसै वर्ष ढलानको तयारी भइरहेको जनाइएको छ ।

नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत रु दुई करोड लगानीमा त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्म तथा पुरानो बैंकचोकदेखि झिसेपू मन्दिर जाने सडक शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र सङ्घीय कार्यान्वयन इकाइ कार्यालय विराटनगरको रु दुई करोड लगानीमा दिक्तेल–दुम्ली सडक ढलान हुँदैछ ।

मुख्य सडकबाहेक तीनवटै सडकको ढलान प्रक्रिया शुरु भइसकेको नगरप्रमुख रिजालले जानकारी दिए । “तीनवटै सडक ढलान गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम थालिएको छ”, उनले भने, “नगरपालिकाभित्र बाँकी सडकसमेत बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी कामलाई अगाडि बढाइएको छ ।”

मध्यपहाडी लोकमार्गले छोएको दिक्तेलबजार ढिलै भए पनि ढलान हुने भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । हप्ताको दुईपटक बुधबार र शनिबार हटियासमेत लाग्ने दिक्तेलबजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ ।