समाचार

त्रिशूलीपारि सडक निर्माण गरिने

काठमाडौं । पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो ।

पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

स्थानीय निकायले अहिले नै गल्छीदेखि मलेखुसम्म ट्र्याक खोलेर सञ्चालनमा ल्याएको छ । त्यसलाई दुई लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ । उनले भने, “मलेखुबाट विशालटारसम्म पनि ट्र्याक खोल्न समस्या छैन ।”

नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने पाइएको छ । कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेको यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो ।

ठाउँठाउँमा पुल रहेका र कतिपय बन्ने क्रममा रहेकाले पनि वारिपारि गर्न कुनै समस्या नहुने प्रमुख थापाले बताए । उनले भने, “यसले गर्दा एकातिर स्थानीयवासी लाभान्वित हुनेछन् भने अर्कातिर पृथ्वी राजमार्ग भएर हिँड्ने सवारीसाधन पारिबाट समेत आवतजावत गर्न सक्छन् ।

”नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि नै यो सडक निर्माण गर्न लागिएको हो । नागढुङ्गा सडकमा दैनिक झण्डै १५ हजार सवारीसाधन आवतजावत गर्ने गरेकामा यो सडक सञ्चालनमा आएपछि त्यो चाप कम हुने विश्वास गरिएको छ ।