कृषि

दूध उत्पादनमा नमूना बन्दै माछापुच्छ्रे गाउपालीकाः मासिक एक करोड आम्दानी !

बाँके । माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् ।

गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ ।

लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक÷दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन् ।

“गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत उत्पादन बढिरहेको छ”, शाखा प्रमुख पौडेलले भने ।

उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले सङ्कलन गरेर बजार पुर्याउछन् भने कही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन् । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो ।

जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ । शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि अन्य स्थानीयवासीसमेत उनको सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए ।

गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उनि राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । वडा नं ३ को घाचोकबाट समेत दैनिक तीन हजार ५०० लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ ।

यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्याउदै आएका छन् । गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार ५०० लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्याङ्क छ ।

नौ वडा रहेको गाउँपालिकाको वडा नं ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ । त्यसैगरी रिभान, माछापुच्छ्रे र सार्दीखोलबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ ।

त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको तथ्याङ्क छ ।

गाईको दूध प्रतिलिटर रु ५५ तथा भैँसीको रु ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर रु ७० मूल्य पर्ने गरेको छ । दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा बर्सेनि मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताए ।

दाना, घाँस तथा परालको बर्सेनि मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसबाट हामी पीडित छौँ”, उनले भने ।

‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधारः समृद्ध माछापुच्छ्रे मूल आधार’ को लक्ष्यसहित गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउछन् ।

चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि रु ६२ लाख ५० हजार बजेट विनियोजन गरी काम भइरहेको उनले जानकारी दिएका छन् ।

गाउँपालिकामा स्थानीय गाई, भैँसी, उन्नत भैँसी, गाई, बाख्रा, भेडा, चौँरी तथा घोडा गरी २५ हजार ३६७ सङ्ख्यामा पशु रहेको बताइन्छ ।