खेलकुद

नेपालले पहिलो पटक घरेलु मैदानमै सिरिज खेल्दैः नेपाल, ओमान र अमेरीका भिड्ने

काठमाडौं । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिज आज (बुधबार)बाट काठमाडौंमा सुरु हुदैछ ।

एकदिवसीय क्रिकेटको मान्यता पाएको झण्डै दुई बर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानसग ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

पछिल्ला दुई महिनादेखि ५० ओभरको क्रिकेट खेल्न नपाएको नेपाललाई अनुभवको खडेरी पर्न सक्छ । दुई बर्ष अघि नेपालले युएईमा ऐतिहासिक सिरिज खेल्दै उपाधि हात पारेको थियो । त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन ।

नेपालले एक दिवसीय क्रिकेटको पछिल्लो सात बर्षमा ओमानलाई पराजित गर्न सकेको छैन् । कीर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासंग दुई दुई वटा खेल खेल्नेछ ।

हेड टू हेड

हालसम्म नेपाल र ओमान ७ पटक एक दिवसीयमा आमने सामने भएका छन् । जसमा नेपाल र ओमान दुवैले समान ३(३ खेल जितेका छन् ।

नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो । ओमानले पछिल्लो ३ खेलमा नेपाललाई पराजित गर्दै आएको छ ।

सिंगापुरमा भएको सन् २००२ को एसीसी ट्रफीमा नेपाल र ओमानले पहिलो खेल खेलेका थिए । जसमा नेपालले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको ओमान ३५ ओभर ३ बलमा ४८ रन बनाउँदा अलआउट भयो ।

सो खेलमा नेपालले सहजै जित हात पारेको थियो । ओमनका ५ खेलाडीले खाता खोल्न सकेका थिएनन् । मात्र २ खेलाडीले दोहोरो अंक बनाएका थिए । नेपालको सहज जितमा शक्ति गौचन र बसन्त रेग्मीले समान ३(३ विकेट लिएका थिए ।

यस्तै, सन् २०१० को एसीसी इलाईट ट्रफी नेपाल र ओमानको दोस्रो भेट थियो । जसमा नेपालले ६ विकेटको जित हात पार्न सफल भएको थियो ।ओमानले दिएको १ सय ६९ रनको लक्ष्य नेपालले ३८ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालले ओमानलाई अन्तिम पटक सन् २०१३ मा पराजित गर्यो । बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपाल ओमानमाथि २८ रनले विजयी भएको थियो । नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको ओमान १ सय ३२ रनमा अलआउट भयो ।

त्यसयताको भेटमा नेपालले ओमानलाई पराजित गर्न सकेको छैन । ओमानमाथि सूरुवातमा हाबी हुँदै आएको नेपाल अहिले उसलाई हराउन हम्मेहम्मे पर्न थालेको छ ।

नेपालले सन् २०१४ को एसीसी प्रिमियर लिगमा ओमानसंग पहिलो पराजय ब्यहोरेको थियो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य ओमानले ४७ ओभर ५ बलमा ८ विकेट गुमाएर भेट्टाएको थियो ।

सन् २०१८ को एसिया कप छनोटमा ओमानसंग नेपाल पुन ७ विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको २ सय २३ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपाल र ओमानकको भेट अन्तिम पटक आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो ।

जसमा समेत नेपालले खराब प्रदर्शन गरेको थियो । सो खेलमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको थियो । नेपालले पहिले ब्यटिङ्ग गर्दै सानो स्कोरमा समेटिएको थियो । नेपालका लागि शरद भेसावाकरले २२ रनको सर्वाधिक पाली खेलेका थिए ।