राजनीति

सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गरेका छन् ।

विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा उनले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । ‘‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र सीमित गर्ने कार्य सरकारबाट हुदैन’’, प्रधानमन्त्री ओलीले भने, ‘‘सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौ ।’’

उनले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाकाबारेमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह गरे । उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) हिउँदे अधिवेशनबाट पारित हुने सो अवसरमा बताएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गौलाको डाइलोसिस गरिरहेको जानकारी दिँदै चाँडै नै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी गराए । सो अवसरमा उनले आफूले अझै तीन वर्ष सरकारको नेतृत्व गर्ने बताएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।