गण्डकी प्रदेश

पोखराका सहकारीको अनुगमन सुरु

पोखरा । पोखरा महानगरपालिकाले सहकारीको अनुगमन थालनी गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगरकार्य क्षेत्र भएका सहकारीको अनुगमन महानगरपालिकाले शुरु गरेको हो । वित्त सुशासन, संस्थागत सुशासन कायम गराइ सहकारीको दिगो सञ्चालन, स्तरीकरण, एकरुपता, वर्गीकरणमा सहयोग गर्न अनुगमन थालिएको महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।

सहकारीको वास्तविक अवस्थाको पहिचान, तथ्याङ्क सङ्कलन, सहकारी ऐन, नियमावली लागू, सम्पत्ति शुद्धीकरण निर्देशिका र समसामयिक कानूनको पालना सम्बन्धमा सहकारी संस्थाको विश्लेषण गर्न अनुगमनले सघाउने उनको भनाइ थियो ।

पहिलो चरणमा ५० सहकारीको अनुगमन गरिने र अनुगमन गर्न पाँच टोली बनाइएको छ । सोमबार पोखरा– ३ मोहोरिया टोलको करुणा बचत तथा ऋण सहकारी र पोखरा १ को समावेशी बचत तथा ऋण सहकारी अनुमगन गरिएको सहकारी शाखाका अधिकृत अर्जुन न्यौपानेले जानकारी दिए ।

सहकारी विज्ञ ज्ञानबहादुर कार्कीको संयोजकत्वमा सहकारी समितिका सदस्य तथा वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ र सहकारी शाखाका न्यौपानेको टिमले अनुमगन गरेको हो । पचास सहकारीको अनुमगनपछि प्रतिवेदन तयार गरिनेछ । सहकारीमा वित्तीय अनुशासन, संस्थागत सुशासन, सहकारीको मर्म र उद्देश्यअनुरुप सञ्चालन भएका छन् कि छैनन् त्यसबारे अनुगमन गरिनेछ । सूचीकृत नभएका सहकारीलाई सूचीकृत गर्न अनुगमनले सघाउनेछ । महानगरपालिकामा ३५७ सहकारी छन् ।

व्यावसायिक सहयोग सहमति

पोखरा चेम्बर अफ कमर्स कास्की र खैरहनी चेम्बर अफ कमर्स चितवनबीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायिक सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । पोखरा चेम्बरका अध्यक्ष किसान सुनारले तीन खम्बे अर्थनीति अन्तर्गत आर्थिक समृद्धिको लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेकाले पोखरा, चितवन र लुम्बिनीको त्रिकोणात्मक समन्वयबाट पर्यटनको प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो ।

खैरेनी चेम्बरका अध्यक्ष प्रकाश श्रेष्ठले व्यवसायमा आउने समस्या र चुनौतीलाई सामना गर्ने योजनासाथ चेम्बरले काम गरेको बताए।