प्रदेश 1

झापामा जलाइएको शव फेला, तालीम प्राप्त कुकुर द्वारा अनुसन्धान गरिदै

झापा । झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

तीनै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुष्माका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले भने– “जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानबाट तालीम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको छ ।”

स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले भने, “घटनाको विषयमा अनुसन्धान हुँदै छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँन लागेका छौंँ ।”