पर्यटन/संस्कृति

लुम्बिनी विकासको योजना कार्यान्वयन गर्न प्राधिकरण गठन : मन्त्री भट्टराई

रुपन्देही । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक र साँस्कृतिक विविधतालाई ध्यानमा राखेर वृहत्तर लुम्बिनी क्षेत्रको योजना बनाउने बताए ।

“वृहत्तर लुम्बिनी क्षेत्रभित्र बौद्ध स्तूप, मस्जिद, मन्दिरलगायत सबै क्षेत्रलाई समेटिन्छ”, उनले भने, “धार्मिक, साँस्कृतिक विविधतालाई ध्यानमा राखेर बुद्धको जीवनीसँग जोडिएका रुपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न क्षेत्रको विकास गर्ने अवधारणा सरकारले अगाडि बढाउँछ ।” उनले भने, “कुनै पनि विकासका आयोजना अगाडि बढाउँदा स्थानीयवासीको जीवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरालाई विशेष जोड दिइन्छ ।”

मन्त्री भट्टराईले वृहत्तर लुम्बिनी विकासको योजना कार्यान्वयन गर्न वृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन गर्ने जानकारी दिए । उनले भने, “यो ठूलो आयोजना हो, यसको बजेट झण्डै रु दुई खर्ब हुन्छ । यसले वृहत्तर लुम्बिनी क्षेत्रका नागरिकको सामाजिक, साँस्कृतिक परिवर्तमा ध्यान दिन्छ र यसमा सङ्घ, प्रदेश र स्थानीय तहको लगानी हुन्छ ।”

राष्ट्रियसभा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनी क्षेत्र वरपरको विकासमा सङ्घीय सरकारले उचित ध्यान दिन नसकेको गुनासो गरे । तीन वर्ग माइल क्षेत्रको विकासले मात्रै लुम्बिनीको विकास नहुने बताउँदै उनले लुम्बिनीका स्थानीयवासीको शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता आवश्यक रहेको धारणा व्यक्त गरे । धार्मिक सद्भावको नमूना शहरको रुपमा लुम्बिनीको विकास गर्न सकिनेमा उनले जोड दिए ।

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ताले लुम्बिनीको विकासले मात्रै यो क्षेत्रको विकास नहुने बताउँदै बुद्धको जीवनीसँग सम्बन्धित धेरै क्षेत्र कपिलबस्तुमा रहेपनि ती क्षेत्रको उचित विकास हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनीको विकास र समृद्धिका लागि स्थानीयवासीको साथ र सहकार्य आवश्यक रहने बताए ।