खेलकुद

शहीद स्मारक लिगः च्यासल युथ क्लब विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को मैदानमा भएको खेलमा च्यासलले मनाङमस्र्याङ्दी क्लबलाई २–० गोलले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठले गोल गर्ने मौका पाएका थिए । उनले मौकाको फाइदा लिन सकेनन् । यस्तै खेलको १०औँ मिनेटमा च्यासलका सन्तोष साउखलको प्रहार गोलमा परिणत हुन सकेन ।

खेलको २४औँ मिनेटमा टेइगी नाकामुराले च्यासलका लागि पहिलो गोल गरे । खेलको ३६औँ मिनेट र ४१औँ मिनेटमा मनाङका अञ्जन विष्टले गोल गर्ने मौका पाए पनि त्यसको फाइदा लिन सकेनन् ।

पहिलो हाफको प्रदर्शनमा सुधार गर्दै खेलको मनाङले दोस्रो हाफमा पनि गोल गर्न सकेन । यसैगरी खेलको ४९औँ मिनेटमा निशान लिम्बूले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

खेलको ६४औँ मिनेटमा मनाङमा विमल रानाले गोल गर्ने मौका पाए पनि विपक्षी खेलाडीले सफल हुन दिएनन् । खेलमा रेफ्रीलाई दुव्र्यवहार गरेको भन्दै च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले रातोकार्ड पाएका थिए ।

 

खेलको इन्जुरी समयमा नाकामुराको पासमा च्यासलका सन्तोष साउखलले उत्कृष्ट गोल गरे । जितपछि च्यासल १२ अङ्कका साथ लिगको नवौँ स्थानमा उक्लेको छ भने हारपछि मच्छिन्द्र २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

मुख्य प्रशिक्षक पटवालको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले नेपालमै आयोजना हुन लागेको त्रिकोणात्मक सिरिज अघि राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुनेगरी पटवालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) समक्ष राजीनामा बुझाएका छन् ।

उक्त सिरिज बुधबारदेखि कीर्तिपुरमा शुरु हुँदै छ । नेपालले पहिलोपटक आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न लागेको हो । पटवाल गत जेठमा एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमै रहेका बखत पटवाललाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) को पहलमा आइसीसीले मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिनेगरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनले पोखरामा यसअघि भइरहेको बन्द प्रशिक्षणका क्रममा राजीनामा दिएको बताइएको छ । पटवालले पोखरामा बन्द प्रशिक्षणकै क्रममा आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको बताउँदै आएका थिए ।

नेपालले ओमान र अमेरिकासित घरेलु मैदानमा चार खेल खेल्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पटवालको राजीनामाबारे आधिकारिकरूपमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।