पु.समाचार

सचिव राईले आफ्नो कार्यकालमा इमान्दारीपूर्वक काम गरेः गृहमन्त्री

काठमाडौं । अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई आज बिदाइ गरिएको छ । गृह मन्त्रालयमा एक समारोहमा उहाँलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरे ।

सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताए । हरेक सरकारी कर्मचारीले गलत प्रवृत्तिविरुद्ध लड्न र कानून कार्यान्वयनमा डराउन नहुनेमा जोड दिँदै मन्त्री थापाले राईमा त्यस्तै खालको प्रवृत्ति थियो भने ।

अवकाशप्राप्त सचिव राईले राष्ट्रसेवक भएर आफ्नो कार्यकालमा इमान्दारीपूर्वक जनताको काम गरेको जिकिर गरे । उनले गृहमन्त्री थापासँग काम गर्दा सहज भएको उल्लेख गर्दै सोही कारण मन्त्रालयले सफलता प्राप्त गरेकोसमेत बताए ।

यही माघ २२ गते अनिवार्य अवकाश पाउने भए पनि उनले दिएको राजीनामा आजदेखि लागू हुनेगरी यसअघि नै स्वीकृत भएको थियो । विसं २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २०७४ साल चैत २६ गतेदेखि गृहसचिव भएर काम गरेका थिए।