समाचार

सुशासन समिति द्वारा ललितपुर महानगरपालिका निरिक्षण

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज ललितपुर महानगरपालिकाको न्यायिक समितिको भ्रमण गरेको छ । न्यायिक समितिमा आइरहेका मुद्दाका प्रकृति, मुद्दा सुनुवाइको अवस्था लगायतका विषयमा बुझ्न समिति महानगर पुगेको हो ।

समितिका सभापति तारादेवी भट्टलगायतका सदस्यहरूले महानगरपालिकाका कर्मचारी लगायतसँग मुद्दाका विषयमा जानकारी लिएका थिए । उनीहरुले समिति मै बसेर मुद्दाको सुनुवाइसमेत हेरे ।

समितिका सभापति भट्टले न्यायिक समितिमा रहेका चुनौतीका विषयमा जानकारी लिइएको जानकारी दिए । न्यायिक समितिमा खासगरी सहकारी क्षेत्रका मुद्दा आउने गरेको पाइएको उनले बताए । समितिले आगामी दिनमा अरु पालिकामा समेत पुगेर त्यहाँको कामकारवाहीका बारेमा जानकारी लिने योजना रहेको बताए । उनले भने, “हामीले वार्षिक कार्ययोजनामा नै विभिन्न पालिकामा पुग्ने योजना बनाएका छौँ ।”

समितिको उद्देश्य सरकारलाई सहयोग गर्नु भएकाले तीनै तहका सरकारको काम कारवाही हेरेर आवश्यक सल्लाह सुझाव दिने गरिएको सभापति भट्टले बताए । समितिको कार्यक्षेत्र सबै मन्त्रालय र तीन तहको सरकार भएकाले उनीहरुसँग नजिक रहेर काम गरिरहेको उनको भनाइ थियो । सुशासन र दिगो विकास सरकारकै लक्ष्य भएकाले समितिले पनि त्यसमा सघाउन लागिपरेको उनले बताए । उनले भने, “हामीले आवश्यक पर्दा उनीहरुलाई बोलाएरै पनि छलफल गरिरहेका छौँ ।”