विचार/ब्लग

अवसर पाएमा छोराभन्दा छोरी बलिया

रजनी श्रेष्ठ / श्रृष्टिको आधा हिस्सा हो महिला, प्रकृतिले श्रृष्टिको आधा जिम्मेवरी महिलालाई दिइएको छ । महिलालाई संसारको हरेक कुरामा पुरुष बराबर अधिकार छ । महिलाले आफ्नो स्वतन्त्रताको हक अधिकार कोही कसैसँग माग्नुपर्ने आवश्यक्ता छैन । जन्मजात आफ्नो अधिकार लिएर जन्मिएका महिलालाई विकासोन्मुख र शिक्षामा पछि परेका समाजमा धार्मिक, सास्कृतिक र सामाजिक बन्धनमा आफ्नै घरपरिवारबाट पछि परिरहेका हुन्छन् ।

नेपालको सन्र्दभमा बिशेष गरि महिलाहरु परआश्रित भएको कारण यस्ता बन्धनमा पर्ने गरेको देखिन्छ । शिक्षा अनुकुल रोजगारीको अभावका कारण धेरै महिलाहरु बेरोजगार छन् । काम गर्ने र आफुमा आत्मानिर्भर हुने इच्छा हुँदा हुँदैपनि कति महिलाहरु घरको कामकाज र बालबच्चा स्याहार सुसारमा व्यस्तताका कारण परआश्रित हुन बाध्य हुन्छन् भने नेपाल एउटा पुरुष प्रधान देश भएकाले पनि महिलाहरुलाई बाहिर काम गर्न पठाइदैन र परआश्रित भई घरभित्र चुलोचौको, बालबच्चाको हेरचाहमा सीमित हुन बाध्य हुन्छन् ।

महिलाहरु पछाडि पर्नुमा महिलाको पनि ठुलो हात रहेको पाइन्छ । महिला एक आमा हुन् एउटी महिलाबाट आफ्नो सन्तानको रुपमा छोरा नै होस भन्ने धारणा हुनु, छोरालेमात्र बुढेसकालमा आफुलाई राम्रो हेरबिचार र पालनपोषण गर्न सक्छ भन्ने झुट्टा आशाले छोरीलाई कमजोर बनाउने गर्दछ । जव आफ्नो जन्मदिने आमाले नै आफ्ना सन्तानप्रति हेर्ने दृष्टिकोण फरक राख्छ भने घरपरिवार र समाजले अवस्य विभेद गर्नेछन् । आमा बाबु मरेपछि छोराले मात्र अन्त्येष्टि गर्छ र छोराले काजक्रिया गरे स्वर्ग जान पाइन्छ भन्ने गलत धार्मिक आस्थाका कारण महिलाहरु आफ्नै आमाबाबुबाट पछाडि पारिएको देखिन्छ । एउटै आमाबाट जन्मिएको सन्तान कसरी भिन्न क्षमताको हुनसक्छ ? फेरी कसरी भन्न सकिन्छ कि छोरा जन्मिने बित्तिकै ऊ असल र सक्षम नै हुन्छ ? आमाबाबुको ख्याल राख्छ भनेर ?

 

महिलालाई पछि पार्न महिलाको भूमिका महत्वपूर्ण

समाजमा प्रसस्त यस्ता उदारणहरु भेटिन्छ, जो छोरा बुहारी नाती–नातिना छदाछदै पनि बुढेसकालमा बृद्धा आश्रम बस्न बाध्य छन् । कति यस्ता उदाहरण पनि देखिन्छ कि बृद्धाश्रममा थन्काइएका बुढेसकालका आमाबाबुलाई छारीले पालनपोषण र हेरविचार गरेर काजक्रिया गरी सन्तानको धर्म र कर्तव्य पुरा गरेको । माया, प्रेम, धर्म, अधर्म, असल, खराब सक्षम असक्षम लैगिंक आधारमा होइन बुद्धि, विवेक, शिक्षा, आचरण, कर्तव्य निर्वाह र जिम्मेवरीले छुट्याउने कुरा हो ।
कतिपय नेपालमा जातीय समाजमा छोरीलाई आफ्नै परिवारका सदस्यहरुले कलंकको रुपमा लिने गरेको पनि सुनिन्छ । आफ्नै आमाबाबुबाट जन्मनुपुर्व नै भ्रुर्ण पहिचान गरि हत्या गरिन्छ । भने जन्मपश्चात पनि धेरैजसो परिवारमा छोरा र छारीलाई खानपान र शिक्षादीक्षादेखी सबै कुराको व्यावहार अलग गरिन्छ । छोरालाई बुढेसकालको लठ्ठि भन्दै महंगा बोर्डिगं स्कुलमा पढाउने र छोरीलाई पराइ घर जाने हो भन्दै सरकारी स्कुलमा पढाउने गरिन्छ । छारीलाई पढ्ने समयमा घरको काम लगाउने, घरबाट स्वतन्त्र भएर हिड्डुल गर्न प्रतिबन्ध लगाउनुका साथै समाजमा खुलेर बोल्न आफ्नो इच्छा अनुरुप कुनैपनि कृयाकलाप गर्न दिईदैन । छोरी मान्छे भएर आफ्नो अनुशासनमा बस्नुपर्छ, भोली बिहे गरेर जानुपर्ने मान्छे समाजले कुरा काट्छ भन्ने खालका डर त्रासको वातावरण श्रृजना गराई मनोवल घटाउने कार्य गरिन्छ । समाजले कुरा काट्ने डरले छारीहरु आफ्नो इच्छा चाहाना र क्षमता आफुभित्र कुन्ठित पार्न बाध्य हुन्छन् । जुन परिवार र समाजले छोरीलाई अनेक खालका प्रतिबन्ध लगाउछन् त्यहीँ समाजले छोरालाई हरेक प्रकारको गल्ति र नकारात्मक लतको छुट दिइरहेको हुन्छ । आखिर एउटै आमाले जन्म दिइएको छोरा र छोरीलाई लैगिंक आधारमा यति ठुलो भिन्नता किन हुन्छ त ? यस्ता छोरा र छोरीलाई परिवार समाजले गर्ने विभेदका कारण छोरीहरु सक्षम हुन सक्दैनन् ।

हजारांै समस्या र चुनैति पारगरी महिलाहरु कुनै कार्यमा सक्षम भै काम गर्न खाजेमा महिलाको क्षमता प्रति शंका गरिन्छ । बिभिन्न किसिमका प्रश्नहरु गरी उनीहरुको मनोवल कमजोर पार्ने कासिस गरिन्छ । र महिला भएकै कारण उसको क्षमताको मजाक उडाउँछन् । त्यसमाथी पनि महिला कर्मचारीद्वारा महिलाको भावना बुझ्नुभन्दा महिलाहरुबाट नै हेपिने गिज्याउने र उनीहरुलाई हाँसोको पात्र बनाउने गर्दछ ।

अझ तराईका बस्तिहरुमा घरमा छोरी जन्मनु अभिश्राप पर्नु बराबर सम्झन्छन् । छोरी जन्मिए लाखौंको सम्पति दाइजोमा दिनुपर्ने दाइजो प्रथाका कारण छोरीलाई समाजले पचाउन सकेके छैन । गरिबीका कारण दाइजो दिन नसके छोरीको विवाह नै नहुने पुरै जिन्दगी कुमारी बिताउनु पर्ने सम्मको घटना घटेको पाइन्छ । बिबाहको समयमा आफुले माग गरे अनुसारको दाइजो नपाए महिलालाई घरको सासु, नन्द, आमाजु, भाउजू बुहारी लगायतका महिलाबाट नै कुटपिट गर्ने गालिगलौज गर्ने र पटक पटक घरेलु हिंसा गर्ने गरेको घटना बाहिरिने गर्दछ । यसरी एउटी महिलालाई महिलाले नै घरेलु हिंसाको चपेटामा पर्न बाध्य पारेको देख्दा समाजमा महिला पछाडी पर्नु र महिलामाथी समाजले हेर्ने दृष्टिकोण गरिने व्यवहार महिला कै कारण नकारात्मक हुन गएको हो कि भन्ने लाग्छ । यदि एउटी छोरीलाई आफनो आमाले हेर्ने दृष्टिकोणमा छोरा र छोरीमा केही फरक पाउदैन थियो भने, छोरी पनि छोरा सरह सक्षम हुन सक्छ र बुढेसकालको लठ्ठी छोरा मात्र होइन छोरी पनि हुन् भन्ने सोचमा परिवर्तन हुन जरुरी छ । बाबुआमाको पालनपोषण गरि अत्यसम्म काजक्रिया छोरीले पनि गर्न सक्छन् भन्ने विश्वास हुन्थ्यो भने, कुनैपनि सामाजिक बिभेद कुरितिले महिलालाई पछाडी पार्न सक्दैन ।

एउटी महिलाको पीँडा महिलाले नै किन बुझदैनन्? भोलीका दिनमा आफ्नै सन्तति माथी यस्ता खालका दव्र्यवहार होला भन्ने किन सोचिँदैन ? किन महिलाको स्वतन्त्र जिउन पाउने अधिकारलाई पैसाको तराजुमा तोलिरहेको छ यो समाज ? समाजमा जन्मिएका रहेक प्राणीले आफ्नो इच्छा अनुसार स्वतन्त्र र निर्धक्क भएर बाच्न पाउने जन्मसिद्ध अधिकार हो । त्यसैले छोरा र छोरीलाई अलग नियम नबनाऔ, संबिधानमा पनि यति प्रतिशत र उति प्रतिशत भनेर राजनीति गर्ने भाँडो नबनाऔं, अवसर पाएको खण्डमा जुन छोराले गर्न नसकेको काम आज छोरीले गरेको धेरै उदाहरण छन् । छोरा र छोरी भनि लैंगिक आधारमा काम र अवशरको भागबण्डा नलगाऔं, दुवै समान हुन भनि समान व्यवहार र एउटै नियम लागू गरौं र लैगिंक भिेद अन्त्य गरौ ।

छोरीलाई बिभेद गर्ने आमाबाट जन्मनु भन्दा अगाडी नै शुरु हुने बिभेद अन्तय गरौं । महिला अधिकारका नाममा अबौं रकम कुम्ल्याउँने हजारौं महिलालाई झनै अधिकार बिहीन बनाउने केन्द्र, प्रदेश स्थानीय तहबाट संचालित एनजीओ आईएनजीकोको औचित्य खोजौं । महिलालाई महिलाले सम्मान गरे पुरुष वा समाजले सम्मान नगरेर कुनै धरै पाउँदैन । भगवानका पालामा देवीहरु कति शक्तीसाली थिए, पछिल्लो समयमा नै हेर्नुस् न नेपालमा प्रधानन्यायधीश, सभामुख र रष्ट्रपति छोरी भएका हाम्रै देशमा उदाहरण छन् । छोरी वा छोरा भन्दा क्षमताको पहिचान गरि भेदभावको अन्त्य गरे छोरा भन्दा छोरीले धेरै काम गर्न सक्छन् र छोरी नै छोरा भन्दा ईमान्दार र बलिया शक्ती हुन् ।