बाग्मती

सभागृहको काम अघि बढ्दै

चितवन। अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) को काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिएका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले सभागृहको निर्माणको काम अघि बढाउने छ । रु एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ । यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ ।

अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ सभागृह निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो । दुई वर्षभित्रमा काम सम्पन्न हुनेगरी बोलपत्र आह्वान गरिँदै छ । सभागृहमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३०० अट्ने दुईवटा, २०० अट्ने एउटा र १०० अट्ने तीन वटा हल हुने बताइएको छ ।

उनले सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैंच , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने बताए । सभागृहको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा हुनुभएका प्रमुख कुमार घिमिरेका अनुसार सभागृह नेपालकै अत्याधुनिक र ठूलो हुनेछ । काम सम्पन्न गर्न रु २ अर्बभन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको उनले जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र महानगर प्रमुख रेनु दाहालको काम अघि बढेको जनाइएको छ ।