अन्तर्राष्ट्रिय

चीनबाट ३२३ जना भारतीयको उद्धार

एजेन्सी । एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको संख्या ६४७ जना पुगेको छ ।

उहानबाट आइतबार बिहान ३।१० मा उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो । आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका थिए ।

चीनको उहान कोरोना भाइरसका कारण सर्वाधिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको मृत्यु भइसकेको छ । चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।