साहित्य

अनुपममा गुञ्जिए प्रभाती र सुभद्रा

काठमाडौ । अनुपम सिर्जना प्रतिष्ठानको ९० औँ शृंखलामा गजलकारहरू प्रभाती किरण र सुभद्रा ढकालले आफ्ना गजल सिर्जना सुनाएका छन् । एड मार्क कलेजको हलमा सम्पन्न अनुपम विशेष शृंखलामा गजलकार किरणलाई आफ्ना सुपुत्र पुष्कलले साथ दिएका थिए । कार्यक्रममा दुवै स्रष्टाले पाँचपाँच वटा गजल वाचन गरेका थिए ।

उक्त अवसरमा यस वर्षको देउसी कार्यक्रमको आयव्ययसमेत प्रस्तुत गर्नुका साथै आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम परिश्रमीले गजलको विधागत संरचनाका बारेमा अभिव्यक्ति राख्दै वाचित गजलमाथि संक्षिप्त टिप्पणी गरेका थिए ।