सूचना प्रविधि

नारी सञ्चार गृहले दिए मन्त्रीदेखि पत्रकारसम्मलाई लैङ्गिक हिंसाविरुद्ध प्रशिक्षण

भद्रपुर । झापाको नारी सञ्चार गृहले प्रदेशका मन्त्रीदेखि सञ्चारकर्मीसम्मलाई आज एकैथलोमा राखेर लैङ्गिक हिंसा र सुरक्षित सञ्चारका बारेमा विषयविज्ञबाट प्रशिक्षण प्रदान गरेको छ ।

मेचीनगर नगरपालिकासँगको सहकार्यमा नारी सञ्चार गृहले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीलगायत जनप्रतिनिधिहरु, राजनीतिक दलमा नेतृत्वदायी भूमिकामा रहेका स्थानीय महिला नेत्री र सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार महिलाहरुको सहभागिता थियो ।

समाजका विभिन्न क्षेत्रमा अगुवाको भूमिकामा रहेका महिला नेत्रीहरुलाई वरिष्ठ पत्रकार बबिता बस्नेत र प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रशिक्षण प्रदान गरेको थियो । हिंसा किन हुन्छ, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, हिंसाको प्रवृत्ति कस्तो छ, न्यूनीकरणमा राज्य र सञ्चार जगत्को भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण केन्द्रित रहेको थियो । सहभागीहरुले कार्यक्रममा वक्ताहरुसँग अन्तरक्रियासमेत गरेका थिए ।

प्रदेशका सामाजिक विकास राज्यमन्त्री गजमेरले महिला हिंसाको अन्त्य चुनौतीपूर्ण भएको स्वीकार गर्दै समाजमा जरो गाडेर बसेको लैङ्गिक विभेद र हिंसालाई उखेलेर फाल्न सञ्चार जगत्को भूमिका सबैभन्दा महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् ।

वरिष्ठ पत्रकार बस्नेतले लैङ्गिक हिंसालाई विश्वव्यापी आश्चर्य मानिने गरेको जनाउँदै अर्काको घर जानुपर्ने अर्तिबाट हुर्किएका नेपाली महिलाले जिन्दगीभरि नै असुरक्षित भएर जिउनुपरेको बताइन ।

मेचीनगर नगरपालिकाका उपप्रमुख उप्रेतीले न्यायिक समितिमा आउने उजुरीमध्ये धेरैजसो महिला हिंसासँग सम्बन्धित हुने गरेको र संविधान र कानूनमा लेखिएका महिला अधिकारलाई व्यवहारमा लागू गर्न अझै बाँकी रहेको बताइन ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले महिला पत्रकारहरुको हकहितका लागि स्थापना गरिएको संस्थाले विभेदरहित समतामूलक समाज निर्माणका लागि स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रम निरन्तर गर्दै आएको जानकारी दिएको थियो ।