स्वास्थ्य

सरस्वती पूजाका प्रसाद खाँदा भए ६७ बालबालिका बिरामी

बालबालिका बिरामी

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले  बताए । उनका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मूर्ति विसर्जनपछि सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावहरु एक्कासी बिरामी भएको नगरपालिका प्रमुख चौधरीले जानकारी दिए ।

एक दिन पहिले बनाएको बासी तरकारी र बुनियाको प्रसाद खाँदा ‘फुुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बुनिलाल यादवले बताए । प्रमुख यादवका अनुसार अहिले सम्म ६७ जना फुुड प्वाइजनिङ भएर बिरामी परेका बालबालिका तथा अभिभावकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको  बताए ।

बिरामीको स्थानीय स्वास्थ्य संस्थामा चाप बढेपछि त्यहाँको विद्यालयमा राखेर जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले भने । नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।