विचार/ब्लग

नेपालकी छोरी हुँ, हजारपटक भन्न सक्छु, ‘नेपालका लागि एमसिसि राष्ट्रघाती हो’

रजनी श्रेष्ठ /कुनै संस्था वा व्यक्तीको जीवीकोपार्जन गर्न, विलासी जीवन बिताउन प्रयोग हुने आर्थिक/जिन्सी बस्तु नै सम्पति हो । जसले नगदमा परिणत गर्न सकिने बराबरको क्षमता बोकेको हुन्छ । आफ्नो आत्मसम्मानका लागि गरिने स्वाभिमान मानिसको पहिचान हो । स्वाभिमानले मानिसको जिवनमा प्राण बराबरको महत्व राख्छ । आफ्नो असल कार्य, बानी व्यवाहार, राष्ट्रियता, आचरण, त्याग, दृढता, र चेतनाले स्वाभिमानको परिचय दिन्छ ।

सम्पतिलाई मानिसको इच्छा, आवश्कता र क्षमता अनुसार जति पनि बढाउन सकिन्छ । धन सम्पति चल बस्तु हो । यसकारण सम्पति एकजनासंग मात्र सिमित हुन सक्दैन । सम्पतिको कुनै सीमा, नियम छैन, जुन सुकै बेला कमाउन पनि सकिन्छ र गुमाउन पनि सकिन्छ । दृढ लगनशिलता, मेहनत र आफ्नो क्षमताको उचित प्रयोग गर्न सके सम्पति कमाउन असम्भव छैन । त्यसैले सम्पतिलाई हातको मैला पनि भन्ने गरिन्छ । सम्पति मानिसको आधारभुत आवश्यकता र भौतिक सुविधा पुरा गर्नको लागि प्रयोग गर्न सकिने बस्तु हो भने स्वाभिमान आफ्नो आत्मासम्मान र आत्माविश्वास एकपटक गुमेपछि कुनैपनि हालमा फिर्ता ल्याउन सकिदैन । आफ्नो स्वाभिमान जिवित राख्न ठुलो त्याग दृढता र विश्वास हुनु जरुरी हुन्छ । स्वाभिमान बजारमा अरबौंमा खरिदविक्रीहुने चिज वस्तु होइन, स्वाभिमान आत्मा देखी नै आउने वा पलाउने दृढ संकल्प र विश्वासले आर्जन गर्ने जिवनको सबैभन्दा ठुलो र महत्वपूर्ण सम्पति हो ।

हामी पढ्छौं इतिहासका वीर गाथाहरु, हिमाल–पहाडका सुन्दर भाकाहरु, तराईका भावनाहरु ती गाथाहरुमा वीर नेपालीको बलिदान छ । ती हिमाल, पहाड, तराईका भाकाहरुमा नेपालीको स्वाभिमान लुकेको छ । नेपालको भुगोल र इतिहासले विश्वमा आफनो स्वाभिमान उच्च राख्न सफल भएको छ । सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका दुतको रुपका चिनिएका गौतम बुद्धको जन्मभुमी र पानीको घुट्को समेत नखाई अंग्रेजसँग लड्नसक्ने सक्ने वीर गोर्खाली बलभद्र कुँवरको देशको रुपमा परिचित पहिचान भएको देश हो नेपाल ।

आफ्नो देश, जन्मभुमि र राष्ट्रको स्वाभिमान बचाउनका लागि हाम्रा पुर्खाले आफ्नो प्राण दिएर लडेको इतिहास ले नै सावित गरिसकेको छ । बरु मर्न तयार हुनुपर्छ एक मुठ्ठि सास रहेसम्म आफ्नो स्वाभिमान र स्वतन्त्रता गुमाउन अर्काको अगाडी घुँडा टेकेर अर्काको दासत्व स्विकार गर्नु हुनु हुदैन भन्ने सदाका लागि अमर सन्देश दिएका छन् पुर्खाहरुले, नेपाल र नेपालीका लागि यसर्थ स्वाभिमान प्राण भन्दा अमुल्य रहेको छ ।

पछिल्लो समयमा विभिन्न सन्धि र सम्झौताका कारण हाम्रो देशका विभिन्न स्थानका भु-भागमा भारत तथा चीन जस्ता छिमेकी मुलुकले आफ्नो देशको नक्सामा पार्न सफल भएका छन् । देशको यस्तो अवस्था देख्दा हाम्रो देशको नेतृत्वमा रहेका नेतागणले इतिहास विर्सेको हो कि भन्ने स्पष्ट देखिन्छ । आफ्नो देशको माटोमा, अझ भनौं नेपाल आमाको छातीमा पराई शत्रुले पाइला टेक्दा पनि नेपाल आमाका सन्ततिहरुले सरकारका तर्फबाट आधिकारिक रुपमा कुनैपनि प्रकारको प्रतिक्रिया दिईएको र राजनैतिक र कुटनैतिक पहल गरिएको देखिदैन । हाम्रा पीता पुर्खाले आफ्नो रगत र पसिनाले सिञ्चित गरेको देशको माटो हाम्रो लागी पनि आफ्नो प्राण भन्दा प्यारो ठान्नु जरुरी छ । देशका कालापानी, लिपुलेक र लीम्पीयाधुरा त पछिल्ला सीमा मिचेका उदाहरण हुन्, यस्ता सयौं स्थानमा नेपालका सीमा मिचिँदा सरकार चुईक्क बोल्दैन बरु अझै सरकारको आयु लम्म्याउन उनीहरुकै चाकरीमा लागेको देखिँदा स्वाभिमान भएको एक नेपालीको मनमा ठेस लागेको छ ।  अब वीर गोर्खालीको देश, सगरमाथाको देश र गौतम बुद्धको देश भन्ने मात्र देशको पहिचान होइन, विश्वमा जलस्रोतको धनी देश पनि हो नेपाल, विश्वमा वीर गोर्खालीको नामले चिनिएको देश पनि हो नेपाल । भुगोल र इतिहास नियाल्दा विश्वको परिप्रेक्षमा फरक भएकोले जगेर्ना गर्नुपर्ने देश पनि हो नेपाल ।

२०४६ पछि दुई वटा संविधान फेरिसके, न त देशको मुहार फेरिएको छ, न त स्वाभिमान बढेको छ । इतिहास र भुगोलले मात्र होइन खेलकुद, कला, संस्कृति, मनोरञ्जन, पर्यटन, उर्जाले पनि देशको पहिचान बदल्न सकिने प्रसस्त ठाँउ छ । विश्वका कयौं मुलुकहरु त्यहाँको प्रकृतिक स्रोत र बिकासले भन्दा पनि खेलकुदका कारण बिश्वभरि चिनिने गर्दछ । प्रकृतिले दिएको उपहार र बिकास निर्माण, धन पैसा मात्र सम्पति होइन देशमा भएका कलाकार र खेलाडी पनि देशको सम्पति हो । बिकास गरी विश्वभर पुर्याउन सकिने दर्जनौं माद्यमहरु छन् । कतिपय सक्षम खेलाडीहरु देशमा अनुकुल वातावरण नभएका कारण बिदेशिएका छन् भने कतिले पारिश्रमिक लिइ अरु देशको नेतृत्व लिँदै खेल्ने गरेका छन् । यसले देशको सम्पति र स्वाभिमान दुवै खतरामा परेको देखिन्छ ।

नेपाल एउटा विश्वमा नै स्वाभिमानी र विकासोन्मुख राष्ट हो । देश चलाउन भनि नेतृत्वमा रहेका सम्माननिय प्रधानमन्त्री ज्यु राष्ट्रपति ज्यु लगायतका मन्त्री ज्युहरु लगायतका जिम्मेवार व्यक्ती वा संस्थाले देशमा भएका स्रोत र साधनको उचित प्रयोग र परिचालन गर्न नसक्दा देशले विकासमा कुनैपनि किसिमको फड्को मार्न सकेको छैन । गरिबी र बेरोजगारी दर बढेको बढ्यै छ, जिवन धान्न नेपालीहरुलाई विदेशीनुपर्ने बाध्यता नै भईसकेको छ, देशको गरिबीका कारणे बैदेशीक हस्तक्षपको सामना गर्नुपरेको देखिन्छ । देशमा राजनैतिक दलका नेताहरु बिचको असमझदारी र पटक पटक हुने मतभेदका कारण देशमा बैदेशिक कु दृष्टि पर्न गएको देखिन्छ । देशमा शुसासन र विकास भएमा बैदेशिक हस्तक्षेपमा कमी आउन सक्ने अनुमान लगाउन सकिन्छ । चीन र भारत जस्ता विश्वमा नै शक्तीसाली देश नेपालमा भएपनि उनीहरुबाट नेपालले धेरै नै फाईदा लिन सक्छ, यसमा नेतृत्व बर्गले संयोजन गर्न नसकैकै कारण फाईदा लिन नसकिएको हो ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरीकाले नेपाललाई सहयोग गर्ने भन्दै मिलियन कर्पोरेसन्स च्यालेन्ज (एमसिसि) को प्रस्ताब ल्याइएको छ । एमसिसिको बारेमा आजभोली पत्रपत्रिका, रेडियो, टेलिभिजनमा विशेष समाचारको रुपमा प्रसारण भइरहेको छ । एमसिसि माथीदेखी चियापसलसम्म चौतर्फि रुपमा बहसको विषय पनि बनेको छ । एमसिसि एउटा स्वाभिमान, देश भक्त र जिम्मेवार नागरिकको चासोको विषय पनि हो । अमेरीका जस्तो विकसित देशले ५५ अर्ब रुपैयाको ठुलो अनुदान किन दिदै छ त ? के अमेरीकाले नेपालको विकासको चिन्ताले ५५ अर्ब रुपैया अनुदानमा दिएको हो त ? कतै अनुदानको प्रलोभनमा अमेरिकाले नेपालमा आफ्नो प्रभुत्व जमाउन खोजेको त होइन ? एमसीसीका माद्यमबाट अमेरिकाले दिने अरबौंको रकममा पक्कापनि कुनै न कुनै षढ्यन्त्र छ, यो सहयोग स्वीकार्नु नेपाली वीर पुर्खाहरुको स्वाभिमानमा चोट् पुग्छ ।

देश भक्त जिम्मेवार र समाजसेवी नागरीकले विभिन्न स्थानमा प्रत्यक्ष रुपमा र सामाजिक सञ्जाल र एमसिसिको खुलेरै विरोध गरिएतापनि सरकारमा रहेका प्रधानमन्त्री केपि शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता एबम् नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र लगायतका नेताहरुले अमेरीकाको अनुदान प्रस्ताव सक्दो छिटो स्विकार खुल्ला रुपमा लविङ गरिरहनु आश्चार्यजनकमात्र नभएर देशद्रोशी हो ।

८२ मुलुकमा गरेको प्रस्तावमा ३३ वटाले मात्र स्वीकार गरेको एमसिसि प्रस्ताबमा अमेरीकाले नेपाललाई ५५ अर्ब रुपैयाको प्रलोभनमा पारि बदलामा अमेरीकी सैनिक अभ्यास लगायतका ७२ पेज लामो विभिन्न सर्तहरु राखिएको विभिन्न मिडिया मार्फत सार्वजनिक भइरहेको छ । दिइएको अनुदानको प्रयोग र परिचालन अमेरिका स्वयम्ले गर्ने र सर्तमा उल्लेख गरिएका कुनैपनि कुरा नेपालको संविधानमा मेलखान गएमा संविधान बदर भइ सर्तमा लेखिए बमोजिम काम हुनुपर्ने सम्मको सर्त प्रस्तावमा उल्लेख गरिएको छ, अरु कुरा जे लेखिएको भएपनि अमेरिकाले ५५ अर्ब सहयोग गर्नु राष्ट्रघाती कदम हो भनेर म एउटी सामान्य नागरिकले पनि बुझेकी छु । बैदेशीक सहयोगका नाममा देशलाई नै बन्धक बनाउनुलाई हजारपटक पनि म राष्ट्रघाती भन्न सक्छु । पुर्खाको आत्मासम्मानलाई पैसामा नसाटौं, आत्मासम्मान अनि नेपाल र नेपालीको स्वाभिमानलाई बचाऔं । कुनै राजनीतिक दल वा संघ संस्थाको प्रतिनिधि भन्दापनि देशको असली नागरिक भएर छातीमा हात राखेर सोचौं भन्ने एउटा देशभक्त नागरिकले सबैलाई आग्रह गर्नेबेला आएको छ । एमसिसि वा यस्ता प्रकारका विदेशी सहयोग लिन सदाका लागि बन्द गरौं, देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागौं ।