बाग्मती

भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि सरकार जिम्मेवार भएर काम गर्न प्रदेश प्रमुखको आग्रह

काठमाडौ । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारले जनताको आर्थिक समृद्धिसँग केन्द्रीत योजना ल्याउनुपर्ने बताएका छन् ।

वाग्मती प्रदेशसभाको (तत्कालीन प्रदेश नं ३) दोस्रो वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले भने, “जनताको आर्थिक समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार अग्रसर हुनुपर्दछ । ”प्रदेश प्रमुख प्रसाईले जनपक्षीय ऐन कानूनको तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि जिम्मेवार भएर कार्य गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रको अर्थतन्त्रलाई दिगो र प्रभावकारी तुल्याउन प्रदेश सरकारले हेटौँडा–काठमाडौँ जोड्ने सुरुङ मार्गको निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको छनोट गरिएको र गुणस्तरीय शिक्षाको प्राविधिक संरचनालाई सदृढ तुल्याउन योजना तथा बजेटसमेत वितरण गरिसकेकाले अब ती क्षेत्रमा अनुगमन गर्न टोली खटाइने बताए। सरकारले आवश्यक ऐनकानूनको तर्जुमा गरी प्रदेशमा अहिले नीति योजना आयोग र लोक सेवा आयोगको संस्था गठन भएर कार्य सम्पादन भइरहेको बताउँदै उनले सङ्घीय सरकारसँग समन्वय गरेर प्रदेशमा प्रहरी ऐनको तर्जुमा गर्ने र निजामती कर्मचारीहरुको थप दरबन्दी उपलब्ध गराउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जनताको शान्ति–सुरक्षा, मौलिक हकको संवद्र्धन र आर्थिक समृद्धि तुल्याउने ऐन कानूनको तर्जुमा भएकाले अब जनतालाई आवश्यक सेवा–सुविधा उलब्ध गराई विकास निर्माणमा लाग्न प्रदेश सरकारलाई आग्रह गरे । कार्यक्रममा वाग्मती प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको विकास र समृद्धिका लागि हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने सडक सञ्जालको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिए।

सो अवसरमा प्रदेश प्रमुख प्रसाइले प्रदेशसभाको पहिलो–दोस्रो बैठकमा नियमित उपस्थित हुने प्रदेशसभा सदस्य देवकी श्रेष्ठ, मैना अच्छामी र सरस्वती बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गरे ।