समाचार

अज्ञात समुहद्वारा कुटिए नेकपाका वडा अध्यक्षः उपचारका लागि काठमाडौँमा

अमरगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार उहाँलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो ।

आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उहाँलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएका छन्  ।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ ।

अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिएका छन् । उनकोखुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ ।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ ।

नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानून बमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ ।

अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो ।

धनगढीमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको नेकपा डडेल्धुराले जनाएको छ ।