अन्तर्राष्ट्रिय

पुटिन र मर्केलबीच मध्यपूर्व र युक्रेनबारे कुराकानी

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर एङजेला मर्केलबीच मध्यपूर्व र युक्रेनका बारेमा कुराकानी भएको छ । उनिहरुबिच टेलिफोन वार्ता भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

यसै महिनाको शुरुमा बर्लिनमा भएको लिबियासम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार भएको सम्झौतालाई कार्यान्वयन गर्ने बारेमा पनि नेताहरूले छलफल गरेको जनाइएको छ ।

क्रेमलिनद्वारा जारी वक्तव्यका अनुसार राष्ट्रपति पुटिनले लिबियाका राजनीतिक पार्टी र सरोकारवालाहरुसँग समन्वय गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुसँग समन्वय गरिएमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का लागि सजिलो हुने पुटिनले बताउनु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

दुवै तर्फका नेताहरुले लिबियामा शान्ति र स्थायित्वका लागि राजनीतिक वार्ता अत्यावश्यक भएकोमा जोड दिएका थिए । पुटिन र मर्केलले युक्रेन र सिरियाको अवस्था, प्यालेस्टायन र इजरायलको द्वन्द्वका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनाका बारेमा पनि छलफल गरेका थिए ।