खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुदै यस्तो छ जानकारी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन् ।

दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्यान्न १२ बजे भिड्नेछन् । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ ।

उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार कम्तिमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छ । तालिकाको पाँचौ स्थानका रहेको थ्री स्टारको १४ अंक छ । सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ । दोस्रो खेलमा एपीएफ र मछिन्द्र दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधि होडमा रहेको मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

एपीएफ भने रेलिगेशनको डरबाट गुज्रिरहेको छ । मछिन्द्र १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एपीएफ ५ अंक जोड्ने रेलिगेशन जोन भन्दा मात्र एक अंक माथि छ ।

गत मंगलबार लिगको पुछारमा रहेको सरस्वतीले पहिलो जित निकाल्यो । शेर्पाविरुद्धको नाटकीय ४–३ गोल अन्तरले विजयी भएपनि सरस्वती अझै रेलिगशेन क्षेत्रमै रहेको छ । पहिलो जित निकालेको सरस्वतीले बाँकी ४ खेलमा जित निकाल्दै रेलिगेशनबाट बच्ने दाउमा छ । तर उसले पहिलो जित निकालेको चौथो दिनमै बलियो थ्री स्टार क्लबको सामना गर्दैछ ।

सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको पहिलो खेलमा कोटेश्वरको सरस्वतीले मंगलबजारको थ्री स्टार क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा शनिबार हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दशौं चरणको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । सरस्वतीलाई हराउँदै थ्री स्टार शीर्ष ६ को यात्रा सहज बनाउने दाउमा हुनेछ ।

अन्तिम खेलमा मछिन्द्रसँग २–० ले पराजित थ्री स्टारले आफु उपाधि यात्राबाट बाहिरिसकेको बताएको छ । सरस्वतीविरुद्ध पाँचौं जित निकाल्दै थ्री स्टार एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लन चाहन्छ । “प्लेयर सबै फिट छन् । अघिल्लो खेलमा हारको बाबजुद खेलाडीले राम्रो गरेका छन् । टप सिक्समा बस्न र दोस्रो तेस्रो स्थानमा रहनको लागि खेल निकै महत्वपुर्ण छ ।” थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन् ।

यता, सरस्वती पनि थ्री स्टारलाई हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उक्लिन चाहन्छ । सरस्वती लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।पछिल्लो खेलको प्रभाबशाली जितले खेलाडीको मनोबल बढेको छ । शनिबार सरस्वती “गर या मर”को स्थिति हुनेछ । थ्री स्टारसँगको एक हारले उसको रेलिगेशनको सम्भावना बलियो हुनेछ ।

“जित्नै पर्ने अवस्था छ । पछिल्लो जितले खेलाडीको मनोबल उच्च छ । राम्रो टक्कर दिन्छौं ।” बिगत ७ बर्षदेखि सरस्वती क्लब हेर्दै आएका प्रदिप नेपाल भन्छन् । ७ खेलबाट ४ अंक बटुलेको सरस्वती पुछारमा रहेको छ । यस्तै समान खेलबाट १४ अंक बटुलेको थ्री स्टार ५ औं स्थानमा छ ।

शनिबार दुबै टिमलाई कुनै खेलाडीको समस्या छैन । थ्रीस्टारले दक्षिण एसियाली एक खेलाडीसहित ४ विदेशी खेलाडी मैदान उतार्ने सक्नेछ । सरस्वतीले दुई मात्रै विदेशी खेलाडी खेलाउने तयारी गरेको छ ।

शीर्ष स्थानमा एक अंकले चुकेको मछिन्द्र र रेलिगेशन क्षेत्रबाट १ अंकले बचेको एपीएफ चालु लिगको दशौँ चरणमा भिड्दैछन् ।

शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र र एपीएफ आमने सामने हुनेछन् । निकैनै रोमाञ्चक हुने अनुमान गरिएको खेल दिउँसो ३ बजे सुरु हुनेछ । रंगशालामा दुबै टिम जित निकाल्दै तालिकामा स्थान सुधार गर्न चाहन्छन् । एक प्रकारले दुबै टिम निकै दबाबमा हुनेछन् ।

मछिन्द्रलाई शीर्ष स्थानमा उक्लन दबाब छ । एपीएफ रेलिगेशन क्षेत्रबाट टाढा रहन चाहन्छ । मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा दुई अंकको अग्रता लिन चाहन्छ । यस्तै, एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन क्षेत्रबाट आफुलाई माथि उकाल्न चाहन्छ ।

अन्तिम खेलमा थ्री स्टारविरुद्ध २–० को जित निकालेको मछिन्द्र सोहि प्रदर्शन दोहर्याउने दाउमा छ । “तालिका जस्तो सुकै होस् । एपीएफ बलियो छ । पछिल्लो खेलमा शेर्पासँग भोगिसकेका छौं । आफ्नो खेल खेल्दै शीर्ष स्थानमा फर्कन चाहन्छौं ।” पहिलो पटक मछिन्द्र हेरिरहेका मुख्य प्रशिक्षक प्रवेश कटुवाल भन्छन् ।

पहिलो पटक लिग जित्ने लक्ष्य सहित होमिएको मछिन्द्रलाई शनिबार खेलाडीको चोट समस्याले सताउन सक्छ । उसका बैकल्पिक कप्तान सुजल श्रेष्ठ र रेजिन सुब्बा चोटका कारण खासै जम्न सकेका छैनन् । चोटकै कारण दिपक राईले एपीएफविरुद्धको खेल गुमाउन सक्छन् ।

टिममा अनुबन्धित हेमन गुरुङ अष्टे«लिया र अभिषेक रिजाल माल्दिभ्स लागेपछि मछिन्द्रलाई झनै समस्या परेको छ ।

चालु लिगमा १९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ । गत सिजनको खराव प्रदर्शन बाबजुद मछिन्द्रसँग यस पटक सुरुवातबाटै १ अंक खोसिएको हो । यस्तै ५ अंक जोडेको एपीएफ पुछारबाट तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यता, एपीएफ पनि मछिन्द्रलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट बच्न चाहन्छ । “टिम अहिले केहि दबाबमा छ । मछिन्द्रलाई राम्रो फाइट दिन्छौं । अट्याक र डिफेन्सिभ गेम खेल्दै अंक खोस्न लाग्छौं ।” एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् ।

शनिबार एपीएफले आफ्ना डिफेन्डर सुदिप सिख्राकारलाई गुमाउने छ । पुलिसविरुद्ध उनले खेल सकिएसँगै रातो कार्ड खाएका थिए । यस्तै मछिन्द्रले पनि दोस्रो पहेलो कार्डका कारण आफ्ना विदेशी मिडफिल्डर आद्रेनियालाई गुमाउने छ ।