समाचार

लाईसेन्स मागी चिट नदिई मिलाउनुस् भनी घुष लिनेलाई अख्तियारले गयो पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का खरिदार नेत्रबहादुर चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोही जग्गा बाँडफाँट गरिदिने प्रयोजनका लागि विभिन्न बहाना बनाई निजले सेवाग्राहीसँग रु ४० हजार घुस लिएको आयोगले आरोप लगाएको छ । सेवाग्राहीसँग पटकपटक घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले निजलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

यस्तै आयोगले मोटरसाइकल चालकसँग रु दुई हजार घुस लिएको अवस्थामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्काविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । खड्काले ड्युटीमा खटिएका बेला कुनै पनि गल्ती नगरेको अवस्थामा सेवाग्राहीसँग सवारी चालक अनुमतिपत्र मागी कुनै चिट नदिई मिलाउनुस् भनी घुस लिएको आयोगले आरोप लगाएको छ ।