बाग्मती

प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै ठगी गर्ने राजु पक्राउ

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरीलाई ठगी गर्ने रामेछापका २६ वर्षीय राजु कार्कीलाई बिहीबार साँझ कलङ्कीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ कार्कीले आफू सई भएको र आफ्नो खातामा ३० लाखभन्दा बढी रकम रहेकामा छानबिन हुने डरले गिरीलाई रकम पठाउनका लागि दुवै व्यक्तिबीच बैंकको ट्रान्जेशन हुनुपर्छ भनी गिरिसँग तीन लाख लिएर ठगी गरेको बताए । “गिरीसँग कार्कीले तीन लाखको चेक लिएर नेपाल बैंक लिमिटेड कालीमाटीमा पैसा साटी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

प्रहरीले पक्राउ परेका कार्कीसँग नगद रु सात हजार ५००, मोटरसाइकल एक, मोबाइल सेट एक र मोटरसाइकलको ब्लू बुक एक थान बरामद गरेको छ । पक्राउ परेका कार्की यसअघि पनि ठगी मुद्दामा ६ महिना कैद र रु ६८ हजार धरौटीमा छुटेका व्यक्ति हुन् ।