खेलकुद

टी–२० क्रिकेट प्रतियोगिताः चितवन प्रिमियर लिग शुरु

चितवन । चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्दै क्रिकेट खेलले नेपालमा विस्तारै गति लिँदै गएको बताए ।

खेल क्षेत्रको विकासका लागि खेलाडी, प्रशिक्षक र समर्थकको सहयोग तथा त्याग आवश्यक रहेको उनको भनाइ थियो । उनले खेल क्षेत्रमा लागेका खेलाडीले अनुशासनलाई समेत ध्यान दिन आवश्यक रहेको बताए । नयाँलाई प्रोत्साहन गर्दै पुराना खेलाडीलाई जिम्मेवार बनाउन सकेमा खेल क्षेत्रको विकास सहज ढङ्गले हुने उनको भनाइ थियो ।

सो अवसरमा प्रतियोगिताको प्रमुख प्रायोजक चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपाने, क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधानलगायतले बोलेका थिए । यही माघ २५ गतेसम्म हुने प्रतियोगितामा जिल्लाका पाँच टोलीको सहभागिता रहेको आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । प्रतियोगिताको पहिलो खेल आज भरतपुर गुर्खाज र ईच्छाकामना वारियर्सबीच भइरहेको छ ।

यस्तै प्रतियोगितामा माडी टाइगर्स, सौराहा स्याण्ड्स र राप्ती ¥यापिडस सहभागी छन् । प्रतियोगितामा सहभागी टिमले दुई राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, ट्रफी, मेडल र उपविजेताले रु एक लाख, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपिएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।