राजनीति

नेकपा बैठक : पार्टी एकतापछि सम्बन्धित प्रदेशगत प्रतिवेदन प्रस्तुत

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ ।

पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यही माघ १५ गतेदेखि शुरु भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ शुरु भएको हो । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ । बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ ।