लुम्बिनी

हस्तकलाका सामग्रीबाट आत्मार्निभर बन्दै थारु महिला

बाँके । बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन् । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्षसमेत रहेका नेपालगञ्ज–९ बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले जानकारी दिइन ।

उनले भने, “थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।” उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य तोक्ने निर्धारण गर्ने जनाइएकोे छ । उनका अनुसार थारु महिलाले रु २० देखि रु ७०० सम्मको सामान उत्पादन गर्दै आएका छन् । पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रेलगायत सामान उत्पादन गरेर बजारमा पठाउँदै आएका छन् ।
थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगञ्ज–१२ की उद्यमी विह्या थारुले बताउनुभयो । केही वर्षअघिसम्म थोरै रकम जोड्न समस्या पाएका थारु महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । थारु हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको उनले जानकारी दिए ।

थारु हस्तकला उत्पादनसम्बन्धी तीनमहिने तालीम लिएर व्यवसाय शुरु गरेको विह्याले भनिन्, “एकातिर हराउँदै गएको थारु हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ ।” मासिक रु १०÷१२ हजार आम्दानी र सामग्रीको खपतमा समेत समस्या नभएको जनाइएको छ ।
मागअनुसार सामग्री पु¥याउन नसकिएको पञ्चशील हस्तकला केन्द्रले जनाएको छ । माग बढ्दै गएपछि सामान पु¥याउन नसकिएको बताउँदै केन्द्रका अध्यक्ष निरुले आलोपालो गरेर सामान पु¥याउने गरिएको जानकारी दिए । मागअनुसार थारु हस्तकलाका सामान उत्पादन गर्न कठिन भएको नेपालगञ्ज–९, बाँकेगाउँकी आरती चौधरीले बताइन । “हस्तकलाको व्यवसाय शुरु नगर्दै फुर्सदिलो भए पनि अहिले फुर्सद मिलाउनै गाह्रो हुने गरेको उनको भनाइ छ ।”

“टिभी हेरेर र साथीसङ्गीसँग गफगाफ गरेर दिन बित्थ्यो, तर अहिले एकछिन पनि फुर्सद हुँदैन”, उनले भने । नेपालगञ्ज–९, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाएकि छिन् । उनले घरको कामधन्दा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताइन । थारु महिलाले उत्पादन गरेका सामान नेपालगञ्ज, काठमाडौँ, पोखरा, बुटवल, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, डेनमार्कजस्ता देशमा जाने गरेका छन् । “केही विदेशमा गए पनि अधिकांश सामान काठमाडौँमै खपत हुन्छ”, पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरुले भनिन् । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनले बताइन्।

थारु महिलाले थारु हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेका छन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । “हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ”, केन्द्रका अध्यक्ष निरुले भनिन् ।

उनका अनुसार थारु महिलाले उत्पादन गरेका सामान वातावरणमैत्री समेत छन् । सड्ने, गल्ने भएकाले देश, विदेशमा माग बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देश, विदेशमा मात्र नभई मेला, महोत्सव र शहरमा हुने कार्यक्रममा पनि बिक्री हुने गरेको छ । नेपालगञ्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथिलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ ।

नेपालगञ्जका नागरिक समाजका अगुवा र उद्योगी, व्यापारीले थारु हस्तकलाको सामानलाई नेपालगञ्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छन् । “नेपालगञ्जमा उपहारका रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास भएको छ, हामीले थारु हस्तकलाका सामानलाई नेपालगञ्जको पहिचानका रुपमा स्थापित गर्ने अभियानमा छौँ”, नेपालगञ्जका व्यवसायी सञ्जय थापाले भने ।