कृषि

हिउँदे वर्षात्ले तरकारीमा क्षति

बाँके । पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ ।

जिल्लाका किसानले लगाएका आलु, गोलभिँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिएका छन् ।

उनका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

ती मध्ये आलु दुई हजार ८००, गोलभिँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ । हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभिँडा खेतीमा क्षति भएको छ 

उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ । खाल्डो जग्गामा लगाएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ ।

उँचो ठाउँमा लगाएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले जानकारी दिएका छ ।

किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गरेका छन् ।

बाँकेका आठवटै स्थानीय तहका किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । किसानको क्षतिपूर्ति बढी भएकाले कृषि ज्ञान केन्द्रले अहिले किसानको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

लागुऔषधको घटना १३ प्रतिशतले घट्यो 

बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना यस वर्ष १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण घटनाको प्रतिशतमा कमी आएको हो ।

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुवैतर्फबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो ।

खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटल गायतका लागुऔषध नेपालमा भित्रिने गरेको छ । नेपालबाट गाँजा र चरेशलगायतको लागुऔषध भारतमा जाने गरेको छ ।

विशेषतः सीमानाकामा दुवै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको प्रहरी निरीक्षक थापाले बताए । तथापि, यसका सेवनकर्ता र कारोवारीले शरीरको गुप्ताङ, मुखलगायत विभिन्न स्थानमा लागुऔषध लुकाएर ल्याउने गरेको प्रहरीको भनाइ छ ।

जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोवार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् । चालु आर्थिक वर्षको छ महिनामा जिल्ला प्रहरी कार्यालयले १६३ लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ ।

जिल्ला कारागारमा मात्र अहिले करिब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ । लागुऔषधको कुलतमा फसेकाको उपचारका लागि जिल्लामा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् ।

लागुऔषधको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अनुसार बाँकेका झण्डै एक हजार बढी प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।