पु.समाचार

नेपाली राजनीतिका आदर्श सुशील कोइराला फाउण्डेशनको भवन शिलान्यास

बिराटनगर । सुशील कोइराला फाउण्डेशन भवनको आज शिलान्यास गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको त्याग, बलिदान र सङ्घर्षको स्मृतिमा फाउण्डेशनको भवन निर्माण गर्न लागिएको हो । सादा जीवन, उच्च विचारका प्रतीक स्वर्गीय कोइरालाले समर्पण र कृतज्ञतालाई जीवनभर अनुसरण गर्नुभएको कार्यक्रममा सहभागीले बताएका छन् ।

विराटनगर महानगरपालिका वडा नं ८ स्थित अशोक चोकमा निर्माण हुने सो भवनका लागि विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा प्रदान गरेको छ भने प्रदेश नं १ सरकारले रु ७५ लाख, विराटनगर महानगरपालिकाले रु पाँच लाख र विराटनगर महानगरपालिकाका प्रमख भीम पराजुलीले आमाको स्मृतिमा रु एक लाख ११ हजार सहयोग गर्नुभएको फाउण्डेशनका सचिव दीपक चापागाईँले जानकारी दिए। भवन रु तीन करोडको लागतमा करीब दुई हजार वर्गफिटको बन्ने प्रदेश सरकारले थप सहयोग गर्ने आश्वासन प्राप्त भएको सचिव चापागाईंले बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले भवनको शिलान्यास गर्दै लोकतन्त्र र पार्टीप्रति समर्पित स्वर्गीय कोइराला नेपाली राजनीतिक क्षेत्र अनुकरणीय योगदान दिनुभएको बताए । उहाँले ‘देश र जनताका निम्ति जीवन सङ्घर्षरत स्वर्गीय कोइराला सबैका लागि प्रेरणादायी हो’, भने ।

काँग्रेस नेता कार्यकर्ताका लागिमात्र नभएर नेपाली राजनीतिका लागि नै आदर्श व्यक्ती मानिने शुसील कोईराला फाउण्डेशन मोरगंकी अध्यक्ष तथा प्रधानमन्त्रीकी पुर्व सल्लाहकार मृदुला कोईरालाले शुसील कोईरालाको योगदान राज्यले बिषन नहुने बताईन् । उनले शुसील कोईरालाले ठूलै प्रेशरलाई पनि वेवास्ता गर्दै जनता र देशका पक्षमा लाग्दै संबिधान निर्माण गर्न तयार रहेका कारण मुलुकमा ठुलो अन्योल हटेको बताईन् । कार्यक्रममा नेता अशोक कोईराला, केन्द्रीय सदस्य अमृत अर्याल, सुनसरी काँग्रेसका सभापति राजीज कोईराला, ने.का.पा मोरङ्गका जिल्ला सदस्य वावुराम कार्कि, नेपाली कांग्रेश मोरङ्गका उप–सभापती शिव नारायण सिंह लगायत नेताहरुले मुलुकलाई शुसील कोईरालाले दिएको योगदानको बारेमा बोलेका थिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले राष्ट्रिय व्यक्तित्वको नाममा प्रदेश सरकारले सहयोग गर्ने वचन दिए । उनले देश र जनताको निम्ति लडिरहने स्वर्गीय कोइरालाले नेपाली जनताको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘त्याग र बलिदान दिनसक्ने स्वर्गीय कोइराला नेपाली राजनीतिक क्षेत्रमा अनुपम उदाहरण हो’ भने ।