समाचार

समाचार सङ्कलनका लागि सदनमा नै ‘लवी रिपोर्टीङ’को व्यवस्था गर्छु: सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई बढीभन्दा बढी पारदर्शी र जनताको पक्षमा बनाउन आफूले भगीरथ प्रयत्न गर्ने पुनः दोहो¥याएका छन् । आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनलाई जीवन्त एवम् जनताप्रति जवाफदेही बनाउन आफूले विशेष गरी ध्यान केन्द्रित गर्ने  बताए । उनले लोकतन्त्रको विस्तार तथा विकासका लागि आफू प्रतिबद्ध भएर लागिपर्ने उल्लेख  गरे ।

उनले राष्ट्रिय विषयमा सदनमा जेजति मात्रामा गम्भीर भएर जीवन्त छलफल गर्न सकियो, उत्ति नै राम्रो प्रलिफल प्राप्त हुने र लोकतन्त्रको विकासमा योगदान पुग्नेमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले सञ्चारकर्मीलाई सहज रुपमा सदन तथा संसदीय समितिको समाचार सङ्कलन गर्ने तथा सूचना लिने कार्यमा सहज वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख सापकोटाले गुणस्तरीय समाचार सङ्कलनका लागि सदनमा नै ‘लवी रिपोर्टीङ’को व्यवस्था गर्नेतर्फ पनि पहल गर्ने विश्वास दिलाए । उनले सदनलाई जनताको पक्षमा बढी जिम्मेवार बनाउन कसरी सकिन्छ भन्ने बारेमा सम्बद्ध सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने उल्लेख गरे । सो अवसरमा सञ्चारकर्मीले सहज रुपमा सदन तथा संसदीय समितिमा समाचार सङ्कलन गर्ने वातावरण मिलाइदिन सभामुख सापकोटासमक्ष आग्रह गरेका थिए ।