प्रदेश 2

राँगा बाँध्ने किलोले प्रहार गरी दाजुको हत्या गर्ने मुसहरलाई कैद सजाय

सप्तरी । राँगा बाँध्ने किलोले प्रहार गरी दाजुको हत्या गरेको अभियोगमा सप्तकोशी नगरपालिका– ३ का ४२ वर्षीय बलराम सदा मुसहरलाई कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशबाट अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले बताए । मादकपदार्थ खाएका अभियुक्तले ०७४ साउन २६ गते राति दाजुलाई घचेट्दै राँगा बाँध्ने किलोले प्रहार गरी घाइते बनाएकोमा भोलिपल्टै मृत्यु भएको भनी मृतककी श्रीमती रम्भाले उजूरी दिएकी थिइन् ।

घाइते बल्कुको साउन २७ गते बिहान मनकामना पोलिक्लिनिक फत्तेपुर, सप्तरीमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतककी श्रीमती ४५ वर्षीया रम्भा सदाले इलाका इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७४ साउन २७ गते उजूरी दर्ता गराएपछि अभियुक्तलाई तत्कालै पक्राउ गरिएको थियो । उनी ०७४ भदौ २० गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।