समाचार

मिचाहा प्रजातिले वनको उत्पादकत्व घट्यो,मिचाहा र रोगकीराको जानकारीका लागी टोलफ्रि सेवा सुचारु

काठमाडौ । पछिल्लो समयमा नेपालमा वन क्षेत्र बढेपनि वनको उत्पादकत्व भने घटेको देखिएको छ । सरकारको अध्ययनले नेपालको वनको उत्पादकत्व प्रतिहेक्टर १३ घनमिटरका दरले घटेको देखिएको हो ।

वनको उत्पादकत्व घटेका विभिन्न कारणमध्ये आयातित वा मिचाहा प्रजातिका वनस्पति एक प्रमुख कारण भएको यस क्षेत्रका विज्ञको भनाइ छ । यस विषयमा थप अध्ययन गर्न र समाधानका लागि वन तथा वतावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले वनमा मिचाहा प्रजाति र रोगकीराको असरबारे जानकारी हासिल गर्न आजदेखि टोल फ्रि हटलाइन टेलिफोन सेवा (१६६०–१००७३९५) सञ्चालनमा ल्याएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२० लाई ‘स्वास्थ्य वनस्पति अन्तर्राष्ट्रिय वर्ष’ का रुपमा मनाउने निर्णय गरेबमोजिम केन्द्रले टोल फ्रि हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो । एफएओ नेपालसँगको सहकार्यमा शुभारम्भ गरिएको सो टेलिफोन सेवाबाट स्थानीयस्तरमा वन व्यवस्थापन गरिरहेका समुदाय, वन उत्पादन गर्न चाहने व्यक्ति, कृषकलगायतले मिचाहा प्रजाति तथा रोगकीराको आक्रमणबाट वनमा भइरहेको असरका बारेमा सूचना दिनेछन् ।

सो सूचना प्राप्त भएपछि केन्द्रले गठन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसम्मिलित टोलीले सो बारेमा अध्ययन गर्ने केन्द्रका महानिर्देशक मेघनाथ काफ्लेले जानकारी दिनुभयो । विज्ञसम्मिलित टोलीले थप अध्ययन र पर्याप्त सूचना सङ्कलन गरी समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकाय र व्यक्तिलाई सुझाव दिने व्यवस्था गरिएको छ ।

महानिर्देशक काफ्लेले निःशुल्क टेलिफोन सेवाले स्थानीयस्तरमा मिचाहा प्रजाति र रोगकीराले वनमा पार्ने असरका बारेमा जनचेतना जगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपलमा ३५ मिचाहा प्रजातिका वनस्पति देखिएको र त्यसमध्ये पनि १५ प्रजातिले वनमा प्रत्यक्ष असर पु¥याएको देखिन्छ । मिचाहा प्रजातिले वनको उत्पादकत्व मात्र घटाएको छैन वातावरणीय सेवामा पनि हस ल्याएको वनस्पतिविद् डा समुद्रलाल जोशीको भनाइ छ । यसले वन क्षेत्रबाट प्राप्त हुने घाँसको मात्रा घटेको र वन्यजन्तुको बासस्थानसमेत घटेको देखिन्छ ।

वनको व्यवस्थापनबाटै वनमा लाग्ने रोगकीरा र मिचाहा प्रजातिलाई नियन्त्रण गरिन्छ न कि कृषिमा जस्तो विषादी प्रयोग गर्ने होइन । वनस्पतिविद् डा जोशीले त्यसका लागि ‘स्वास्थ्य वन’ निर्माणमा पहल गर्नुपर्ने बताउनुभयो । मिचाहा प्रजातिले अन्य स्थानीय वनस्पतिलाई दबाउछ, वृद्धि हुन दिदैन, सूर्यको प्रकाश पर्न नदिनेलगायतका असर गर्दछ । मिचाहा प्रजाति जटिल परिस्थितिमा पनि बाँच्न सक्छ । विदेशबाट ल्याउने वन पैदावार, काठ, बीउलगायतका माध्यमले प्रवेश गर्छन् र अनुकूल हावापानीमा तीव्र रुपमा बढेर अन्य वनस्पतिलाई मासिदिन्छन् । मिचाहा वनस्पतिको उपयोग गर्दा वतावरणीय दृष्टिले दिगो नहुने यस क्षेत्रको विज्ञको भनाई छ । अर्का वनस्पतिविद् डा महेशकुमार अधिकारीले वनस्पति प्रजातिलाई बचाउने कि आर्थिकस्तर वृद्धि गर्ने भन्ने बारेमा सोच्नुपर्ने बेला आएको बताए।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले टोल फ्रि हटलाइन टेलिफोन सेवाले वनस्पतिको स्वास्थ्य र महत्वका बारेमा अध्ययन गर्न र जनचेतना फेलाउन सहयोग पुग्ने बताउँदै यसमा वन, कृषि तथा पशुपक्षी विकास र अर्थ मन्त्रालयबीच समन्वयको आवश्यकता औल्याए । साथै उनले ‘वनको स्वास्थ्य’ सम्बन्धी कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाए मात्र दिगो हुने भन्दै त्यसमा गृहकार्य गर्न केन्द्रलाई निर्देशन दिए।