समाचार

शहीद स्मारक उद्यानले गौरवपूर्ण इतिहासको स्मरण गराउँछ : मुख्य मन्त्रीपौडेल

काठमाडौ । आजभन्दा २५ वर्षअघि तत्कालीन हेटौँडा नगरका प्रमुख डोरमणि पौडेलको अग्रसरतामा निर्मित शहीद स्मारक उद्यान अहिले शहीदको योगदानलाई चिरस्थायी राख्न तथा राष्ट्रिय तथा अन्तरराष्ट्रियरूपमा बुझाउन सफल हुँदै गएको छ । दुई दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ उपस्थित भएर शहीद स्मारक देशकै सबैभन्दा ठूलो राजनीतिक तीर्थस्थलको रूपमा विकास हुँदै गएको प्रति खुशी व्यक्त गरेकि थिइन। उजाड पहाडमा वृक्षरोपण गरेर २२ हजार किलोग्रामको एक विशाल ढुङ्गामा १२ शहीदको मुखाकृति खोपेर शुरु गरिएको शहीद स्मारक उद्यान देशकै सबैभन्दा ठूलो पर्यटकीय उद्यान हो । कलाकार कमलेश महर्जन, पृथ्वीनारायण श्रेष्ठ र लक्ष्मण चौधरीले एक वर्ष लगाएर उक्त ढुङ्गामा मुखाकृति कोरका हुन् ।

शहीद स्मारक भक्ति थापादेखि विसं २०४६ सम्मका शहीदलाई समेट्ने गरी एउटै ढुङ्गामा ज्ञातअज्ञात शहीदको प्रतिनिधिका रूपमा एक पुरुष र एक महिलाको अमूक आकृति समावेश गरिएको र नेपालकै इतिहासमा अनुपम नमूना र सम्पूर्ण शहीदलाई एउटै थलोमा स्मरण गर्न सकिने एक मात्र उद्यान भएको वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल जिकिर गरे । स्मारक व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका पौडेल शहीदको त्याग र योगदानलाई बिर्सिएर इतिहासको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकिने बताए । आजको यो परिवर्तन तिनै महान् शहीदको बलिदानीपूर्ण सङ्घर्षबाट सम्भव भएको उनको भनाइ छ । शहीद स्मारक तिनै शहीदको गौरवशाली गाथालाई जीवन्त बनाई आजको युवा पुस्तामा शहीदप्रति रहेको आस्था जोगाई उनीहरुका बारेमा पूर्णरूपमा अध्ययन, अनुसन्धान र श्रद्धा भक्ति एवं विश्वासको त्रिवेणीका रूपमा अर्पण गर्ने पवित्रस्थल बनाउन लागेको उनले बताए।

स्मारकमा शहीदको स्मृतिस्थललाई पूर्णता दिन करीब ६० फिट व्यास भएको क्षेत्रफलबीचमा १९ फिट गोलाइ र ६५ फिट अग्लो शहीदस्तम्भसमेत निर्माण गरिएको छ । चारैतिर कमलको फूलको आकार देखिने भित्री भागमा विभिन्न कालखण्ड झल्कने अमूक आकृति र आकार, फोहरा, आकर्षक बगैँचा तथा अग्रभागमा नेपालको प्राकृतिक विविधता झल्कने विशाल नक्शा छ जसमा देशका मुख्य नदी हिमशृङ्खला हुँदै बगिरहेको देख्न सकिन्छ । उक्त स्तम्भको राष्ट्रपति भण्डारीले चार वर्षअघि शहीद दिवसकै अवसरमा विसं २०७२ माघ १६ गते अनावरण गरेका थिए ।

जनस्तरबाट निर्माण गरिएको सो स्मारकमा जननेता मदन भण्डारीको स्मृतिमा उनको निधन भएको स्थान दासढुङ्गाको दृश्य प्रतिविम्वित हुने गरी नेपालकै पहिलो पूर्णकदको मदन प्रतिमा र आकर्षक मदन बाटिका निर्माण गरिएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ माघ १७ गते उद्घाटन गरेको शहीद स्मारक स्थापनाको २५ औँ वर्ष अर्थात् रजतजयन्ती वर्षमा आइपुग्दा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण भएका छन् । बालोद्यान, चिडियाखाना, पौडीपोखरी, विश्रामस्थल, वनभोजस्थल, मदन स्मारक, पर्यटक सूचना केन्द्र, थाहा स्तम्भ, प्रवेशद्वार, झोलुङ्गे पुल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, व्यावसायिक कक्ष, आकर्षक मनमोहक बगैँचा, धरहरा उद्यान, मैत्रीउद्यानलगायत संरचना निर्माण भइसकेका छन् । स्मारकले यस भेगको आर्थिक–सामाजिक जीवनमा पारेको बहुआयामिक प्रभाव अन्य क्षेत्रका लागि समेत अनुकरणीय हुने मुख्यमन्त्री पौडेल बताए ।

व्यवस्थापन समितिका अनुसार स्मारकले १०० जनालाई प्रत्यक्ष र दोब्बरलाई अप्रत्यक्ष रोजगारी दिएको छ । समग्र मकवानपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्मारकले नेतृत्वदायी भूमिका खेलेको छ । यसबाट हेटौँडाको आर्थिक क्रियाकलापमा समेत वृद्धि भएको बताइन्छ । पछिल्लो समय स्मारकमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई वार्षिक पाँच लाखको हाराहारीमा अवलोकन हुने गरेको स्मारक व्यवस्थापन समितिका सदस्य सुमित्रा काफ्लेले जानकारी दिनुभयो । स्मारकको विकाससँगै यस भेगको विकासले समेत गति लिएको स्थानीयवासीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले दुई दिनअघि उद्घाटन गरेको प्रजातान्त्रिक उद्यानमा प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र गणेशमान सिंहको पूर्णकदको प्रतिमा आकर्षक बगैँचा फोहरासहितको आधुनिक एवं अनुपम बनावटयुक्त संरचना रहेको छ । स्मारकमा रहेका शहीद स्मृति स्तम्भ, शहीद ग्यालरी, प्रजातान्त्रिक उद्यान तथा थाहा स्तम्भले शहीदको स्मृति र योगदानलाई जीवन्त बनाउँदै आएको छ । उद्यानले नयाँ पुस्तामा राष्ट्रप्रेम र समर्पणको भावना जागृत गराउनाका साथै देशको इतिहास र शहीदका बारेमा अध्ययन गर्ने र बुझ्ने अवसरसमेत दिएको हुनाले यो नेपालको राजनीतिक आन्दोलन र शहीदको योगदानका सन्दर्भमा अध्ययन, अनुसन्धानलगायत प्राज्ञिक एवं शोधकार्य गर्नेका लागि महत्वपूर्णस्थल भएको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

“यो हाम्रो गौरवपूर्ण इतिहासको स्मरण हो, सम्मान हो, हाम्रो आस्था र विश्वासको धरोहर हो, समग्रमा यो स्मारक हाम्रो पूँजी हो । यसले हामीलाई सधैँभरि सत्य र न्यायका पक्षमा उभिन अभिप्रेरित गर्छ । देशप्रति त्याग र समर्पणको भावना विकास गर्छ । शहीदको सपना पूरा गर्न अहोरात्र क्रियाशील हुन उत्पे्ररित गर्छ । यसले हामीलाई सधैँ देशका लागि सकारात्मक परिवर्तनतर्फ पाइला अघि बढाउन र केही गर्न झक्झक्याउँछ”, मुख्यमन्त्री पौडलले भन्नुभयो, “किनकि देशले यतिबेला परिवर्तनका लागि रगत होइन, समृद्धिका लागि पसिना र पौरख खोजेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ त्यही आकाङ्क्षाको अभिव्यक्ति हो । यो राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सकिन्छ । जसरी एउटा निर्जन स्थानलाई दूरदर्शी योजना, इमान्दार प्रयास, निरन्तरको मेहनत, व्यवस्थित योजना निर्माण र कार्यान्वयनमाफर्त आज राष्ट्रकै गौरव, मकवानपुरको पहिचान बनाउन सफल भएका छौँ, यो देश त अझ सम्भावना नै सम्भावनाले भरिएको देश हो । सबैको साझा सङ्कल्प, इमान्दार प्रयास र परिश्रमबाट यो देश बन्छ, बनाउन सकिन्छ ।”