अन्तर्राष्ट्रिय

जापानमा परित्यक्त खाद्यान्नबाट बिजुली

एजेन्सी । जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै “जे बायो फूड रिसाइकल” कम्पनी खडा गरेको छ ।

यस कम्पनीले अगस्ट २०१८ मा परित्या गरिएको खानाबाट बायोग्यास बनाउने परियोजना शुरु गरेको थियो । जेएफई इन्जिनियरिङका अध्यक्ष हाजिमे ओशिताले औद्योगिक र फालिएको खानाको प्रयोग गरी एकीकृत सेवा शुरु गरिएको जानकारी दिए । उनले कम्पनीले हाल फोहोर संकलन, फोहोर बिसर्जन, ऊर्जा उत्पादन र विद्युत बिक्रीको कार्य थालेको बताए ।

ओशिताले भने, यस्ता परियोजना जापानमा बिरलै देख्न पाइन्छ । यो परियोजनाले तीन वटा मुख्य पक्षलाई आत्मसात गरेको छ – वातावरण, ऊर्जा र रिसाइकल । सबै किसिमका स्रोतहरुको प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने नमुना देखाउन हामीले चाहेका छौं, र यो सफल पनि भएको छ ।

यस परियोजनामा हरेक दिन ८० टन फोहोर खाद्यान्नलाई सूक्ष्मजीवीय विधिद्वारा प्रशोधन गरिन्छ, र मिथेन ग्यासको प्रयोगबाट विद्युत उत्पादन हुन्छ ।

खाद्यान्न कारखाना र अरु ट्रेन स्टेशनमा जम्मा हुने खाद्य फोहोरलाई संकलन गर्ने कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ । फोहोर उठाउँदा आउने शिशा, प्लास्टिक जस्ता नगल्ने फोहोरलाई छुट्याउने कार्य सम्पन्न भएपछि खाद्यान्नलाई कुहाउने प्रक्रिया शुरु हुन्छ, र अन्तमा बायो ग्यास तयार हुन्छ ।

मिथेनसँगको मिश्रणपछिको बायोग्यासको सहयोगमा विद्युत उत्पादन गरिन्छ । यो विद्युतलाई नवीकरणीय ऊर्जाका रुपमा बिक्री गरिन्छ । जे बायो फूड रिसाइकलका निर्देशक सातोरु उडागावाले कम्पनीसँग हाल ४ लाख घनमिटरका ठूल्ठूला ग्याँस भण्डारण ट्याँकहरु रहेको  बताए ।