अन्तर्राष्ट्रिय

लाओसमा खाद्य सुरक्षाका लागि युरोपेली युनियनको सहयोग

एजेन्सी । युरोपेली युनियनसँग लाओसको खाद्य सुरक्षा कार्यक्रममा सघाउने सम्बन्धी एक सम्झौतामा बुधबार हस्ताक्षर भएको लाओसको कृषि तथा वन मन्त्रालयले जनाएको छ ।

उक्त सम्झौता बमोजिम तोकिएका वस्तु र प्रान्तका उच्च महत्वका कृषिजन्य सामग्रीको पहिचान गरिने उल्लेख छ । किसानले उत्पादन गरेका सामग्रीको बजार पहुँच स्थापना गर्न पनि यस परियोजनाले सघाउने छ । किसान र निर्यातकर्ताहरुबीचको सम्बन्ध विकास गर्न यस आयोजनाले मद्दत गर्नेछ ।

परियोजनाले बोटबिरुवाको स्वास्थ्य र बिषादीको प्रयोगलाई नियन्त्रण गर्न नियामक संरचना निर्माणमा कानुनी र प्राविधिक पक्षमा सघाउने छ । बनस्पती र खाद्य उत्पादनमा विषादीको प्रयोगका सन्दर्भमा उचित मापदण्ड अपनाएको अवस्थामा मात्र त्यस्ता वस्तुलाई युरोपेली बजारमा पहुँच हुने भएकाले पनि यो सम्झौताको कार्यान्वयन लाओसको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण मानिएको छ ।

यस सम्झौता लगत्तै विभिन्न चरणमा कार्यक्रमहरु आयोजना गरिने मन्त्रालयले स्पष्ट गरेको छ । उत्तरी लाओसको लुआङ नाम्थाका किसानका लागि खर्बुजा खेतीमा प्राविधिक सहयोग उपलब्ध हुनेछ । मध्य लाओसको भिएनटिन क्षेत्रका किसानलाई धान उत्पादनमा मद्दत गरिने छ भने लाओसका कृषिसँग सम्बन्धित विभिन्न नियामक निकायहरुको प्राविधिक क्षमता विकासमा सहयोग शुरु हुनेछ ।