पर्यटन/संस्कृति

कोरना भाइरसका कारण पाटाको नाइस कार्यक्रम सर्यो

काठमाडौं । चीनमा देखापरेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गर्न लागेको नेपाल इण्डिया चाइना एक्सपो ९नाइस० कार्यक्रम सरेको छ ।

पाटा नेपालले नेपाल भ्रमण वर्ष २०२० सँगको सहकार्य तथा समन्वयमा फेब्रुअरी २२ देखि २५ सम्म नाइस कार्यक्रम आयोजना गर्ने तयारी भएको थियो । कोरोना भाइरसका कारण चीनबाट आमन्त्रित अतिथि तथा प्रतिनिधिको सहजरुपमा सहभागिता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई यसै वर्ष आयोजना गर्नेगरी तत्कालका लागि पछि सारिएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको छ ।

छिमेकी मुलुक चीनमा फैलिरहेको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा हुनसक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात् नाइस कार्यक्रमका लागि उपयुक्त मिति तय गरिने पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले बताए । उनले सम्पूर्ण आमन्त्रित पाहुना, सहभागी तथा सरोकारवालालाई संस्थाद्वारा सम्प्रेषण गरिने अर्को सूचना प्रतिक्षाका लागि अनुरोध गरेका छन् ।

पाटा नेपालको यही माघ १३ गते भएको कार्यसमितिको बैठकले कोरोना भाइरसका कारण उत्पन्न सङ्कटपूर्ण अवस्थामा आमन्त्रित प्रतिनिधिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरुप सो निणर्य गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले नाइस एक्सपोे विशेष महत्वपूर्ण कार्यक्रम भएको र यसले नेपालको पर्यटन प्रवर्धन विकासमा उल्लेख्य योगदान पुग्ने बताए । भ्रमण वर्षलाई सफल बनाउन संयुक्तरुपमा आयोजना गरिने कार्यक्रममा पाटालाई आवश्यक सहयोग र सहकार्य गरिने उनले उल्लेख गरे ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले एक्सपोमा १२० क्रेता र ५० बिक्रेताले सहभागी जनाउने निश्चित भएसँगै आवश्यक तयारी पूरा भए पनि वर्तमान समय एक्सपो आयोजनाका लागि उपयुक्त नरहेको बताए । उनले सम्पूर्ण पर्यटन व्यवसायी तथा सरोकारवाला एकजुट भएर कोरोना भाइरसका कारण पर्यटनमा हुन जाने सम्भाव्य असर तथा चुनौती समाधानका लागि सबैले सहकार्य र समन्वयमा जोड दिन आवश्यक रहेको बताए ।