कर्णाली प्रदेश

बाल क्लबले रोक्यो बालबिवाह

दार्चुला । मालिकार्जुन गाउँपालिका–८ का हरीना धामीले आफ्नो छोरीको बालविवाह नगराउने प्रतिबद्धता गरेका छन। गाउँपालिकाले बालविवाह रोक्न बोलाएको छलफलमा सहभागी हुँदै धामीले छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गरेका हुन ।

नाबालक छोरीको बिहे हुन लागेको भन्दै शङ्करपुर माविमा गठित बालक्लबमा उजुरी परेपछि गाउँपालिकाले आमाबुबालाई छलफलका लागि बोलाएको थियो । यही माघ ९ गते बालक्लबले धामीकी १५ वर्षीया छोरीको महाकाली नगरपालिका–९ सकारका १५ वर्षीय बालकसँग गराउने तयारी भएको भन्दै बालविवाह रोक्न गाउँपालिकालाई पत्राचार गरेको थियो ।

बालक्लबका अध्यक्ष दीपक धामीका अनुसार बालिकाले आफ्नो बिहे जबर्जस्ती आमाले गर्न खोजेको भन्दै सो क्लबमा खबर गरेकि थिइन्। बालिकाको बिहे जबर्जस्ती गराउने खबर पाएपछि आफूहरुले बालसञ्जाल समितिमा निवेदन दिएको उनले बताए । बालिकाको आगामी वैशाखमा बिहे गराउने तयारी थियो ।

बालिकाकी आमा हरिनाले केटा पक्षबाट छोरी माग्न आएको स्वीकार गर्दै बिहे गराउने मिति भने तय नभएको बताइन् । “छोरी माग्न आएकै हुन्, तर छोरी दिने सहमति भएको थिएन”, बैठकमा उनले भनिन्, “छोरीको उमेर पुगेको छैन, अहिले कक्षा ७ मा अध्ययनरत छ, म छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गर्छु ।”

गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ तयार गरेको छ । गाउँपालिकाभित्र बालविवाह अन्त्य गर्ने लिइएको लक्ष्यअनुसार बालविवाह गर्न नहुने भन्दै अहिले बालक्लब सक्रिय भएको क्लबका अध्यक्ष धामीले बताउए । गाउँपालिकाले विसं २०७८ भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने गरी रणनीति बनाएको छ । गाउँपालिकाले ‘बालविवाह मुक्त बालबालिका, समृद्ध गाउँपालिका’ भन्ने मूल नाराका साथ अभियान थालनी गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले बिहे गर्ने उमेर २० वर्ष तोकेको छ ।