विचार/ब्लग

सामाजिक संजालको दुरुपयोगले बाल विवाह, बहु-बिवाह र सम्बन्ध बिच्छेद बढ्यो

रजनी श्रेष्ठ/मानिस एक सामाजिक प्राणी हो । समाजमा बस्ने, घुल्ने–मिल्ने मानिसको प्राकृतिक स्वभाव नै हो । समाज विनाको जिवन कल्पना गर्न सकिदैन् । मार्क जुकरबर्गले यहि सोचेर मानिसलाई सामाजिक बनाउने प्रयास स्वरुप फेसबुक बनाएका हुन् ।फेसबुक, ट्वीटर, ह्वाट्सअप, ईन्स्टाग्राम, युटुव, ईमो, भाईवर, स्काईप, लिंक्डईन, टिकटक आदि आफ्नो निजी रुपमा संचालित सामाजिक सञ्जाल हुन् । यसमा आफू अनुकुल साथी बनाउन सकिन्छ । टाढा रहेका साथीभाई, आफन्त, परिवारसंग सन्देश पठाउन र कल गरेर पनि कुरा गर्न सकिन्छ । यसले आफ्ना घर परिवारबाट टाढा रहेका आफन्तसँग सजिलै कुराकानी गराई भावनात्मक रुपमा नजिक रहन मद्धत गरेको छ । साथै फेसबुक मार्फत आफ्नो बिचार, लेख, कलालाई बाहिर प्रस्पुटन गर्न सकिन्छ ।

विज्ञान र प्रविधिमा व्यापक विकास भए सँगै सामाजिक सञ्जालको प्रयोगकर्ता पनि बढेको छ । अहिले नेपालको कुल जनसंख्याको दुई तिहाई जनसंख्या मोबाइल र इन्टरनेटको पहुँचमा छ । यसको मतलब नेपालका धेरै जनसंख्या सामाजिक संजालमा जोडिएका छन् । प्रविधिको तिव्र बिकासले सामाजिक संजाल चलाउन सहज हुनेगरी प्रत्येक सामाजिक सञ्जालका एपहरु बनाइएका छन् । सामाजिक सञ्जालको सहि सदुपयोग गरिने हो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । नयाँ नयाँ कुरा सिक्न देखि विश्वभरका जानकारी लिन सकिन्छ । साथै आफुमा भएको कला कौशल पनि सजिलै विश्वभर पुर्याउन सकिन्छ ।

सामाजिक सञ्जालको बिकास र प्रयोगले मानिसको व्यस्त समयका कारण टाढिएका परिवारजनसँग व्यस्तताको बाबजुद पनि एक–अर्कासंग भावनात्मक रुपले बाँधेर राख्न सफल भएको छ । सामाजिक सञ्जालको प्रयोगले समयको बचत गरि छिटो र सरल तरिकाले जानकारी लिन दिन सकिन्छ । पहिलेको समयमा एक ठाउँबाट अर्को ठाउँमा सन्देश पठाउनु पर्दा चिठीपत्रद्वारा पठाउनुपर्ने र महिनौ समय लाग्ने हुन्थ्यो भने आज छिनभरमा नै सो काम सम्पन्न गर्न सकिन्छ । यसर्थ सामाजिक सञ्जालको प्रयोग सजिलो छिटो र फाइदा जनक रहेको छ ।

विश्वको तुलनामा अशिक्षा, बेरोजगारी, गरिबीको संख्या अत्याधिक रहेको नेपाल जस्तो मुलुकमा सामाजिक सञ्जालको सदुपयोग भन्दा धेरै दुरुपयोग हुने गरेको देखिएके छ । फुर्सदिलो समयका कारण नेपालका लागि सामाजिक सञ्जाल एउटा घातक रोगको रुपमा विकास भएको महशुस गर्न सकिन्छ । खालि दिमाग सैतानको घर, भन्ने नेपाली उखानको एउटा उदाहरणको रुपमा नेपालीले सामाजिक सञ्जाललाई गरेको दुरुपयोगलाइ लिन सकिन्छ । खालि समयमा धेरै मानिसहरु सामाजिक सञ्जालमा ब्यस्त हुने र राम्रा भन्दा नराम्रा पक्षमा कुराकानी गर्ने जताभावि पोष्टहरु गर्ने, गालीगलौजका शब्द प्रयोग गरी नकारात्मक टिकाटिप्पणी गर्ने र छाडा प्रकारका समाजमा नकारात्मक असर पर्ने खालका फोटो भिडियो राखी सामाजिक सञ्जालको दुरुपयोग गरिएको पाइन्छ । बिभिन्न समयमा सामाजिक संजाल दुरुपयोग गरेको कशुरमा प्रहरीले बिभिन्न व्यक्तीलाई कारबाही गरेका उदाहरुण पनि प्रशस्त छन् ।

आजभोली स्वाभिमान र प्रतिष्ठित ब्यतिहरुलाई सामाजिक सञ्जालदेखी डराउनुपर्ने अबस्था सिर्जना भएको छ । चरित्र हत्या, ब्याकमेल, फेक आइडि बनाएर बदनाम गर्ने खालका घटना दिनप्रतिदिन बढेदो छ । नेपालको पछिल्लो तथ्याकंको आधारमा १८ देखि २४ बर्ष उमेर (एजेन्सी) समुहका मानिसहरु अत्याधिक रुपमा सामाजिक सञ्जालमा समय बिताउने गरेको अध्यनले देखाएको छ । यसरी सामाजिक सञ्जालमा घण्टौ समय बिताउने मानिस मौन, एक्लो र क्रोधित हुनेगरेको पाइन्छ । यस्ता व्यक्तिहरु आफुलाई अरुसंग तुलना गर्ने र आफ्नो मनोबल कमजोर भई परिवार र समाजबाट टाढा रहन चाहान्छन् जसका कारण यस्ता व्यक्तिहरुलाई सामान्य रुपमा जिवन यापन गर्न कठीन भईरहेको छ । सामाजिक सञ्जालका कारण श्रीमान–श्रीमती, पे्रमी–पे्रमीकाबीच सम्बन्धमा दरार आउन गई ब्रेकअप वा सम्बन्ध विच्छेद भएका घटना पनि प्रहस्त छन् ।

सामाजिक सञ्जालसंग नजिकिएको कारण मानिस भावना विहिन भइरहेको छ । परिवारसँग रहँदा पनि कसैले कसैलाइ वास्ता नगर्ने, आफ्नो वरपरका साथिभाई आफन्तलाइ बिर्सिएर नचिनेका टाढाका साथिसँग झुटा, र देखावटि रुपमा मनोरञ्जन लिइरहेका हुन्छन् । वैदेशीक रोजगारीमा गएका कतिपय नेपालीहरु त महिनौ दिन व्यस्त रहेपनि एकदिन कुनै समुन्द्रमा घुम्न जाँदा रमणीय तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्दै पुरा दुःख साथीभाई तथा आफन्तजनसँग सुखमा साट्ने गरेका उदाहरण पनि छन् । सामाजिक सञ्जालका कारण परिवारमा माया प्रेम र विश्वासको वातावरण हराउँदै गएको छ । सामाजिक सञ्जालले मानिसलाई समाजमा होइन एक्लै बस्न सिकाउँदै गरेको हो कि भन्ने देखिन्छ । सामाजिक सञ्जाल र इन्टरनेटका कारण मानिस वास्तविक जिबन बिर्सेर नक्कली जिवन तिर तानिएको छ ।

सामाजिक सञ्जालमा लामो समय बिताउने लतका कारण घरायसी कामकाज गर्न नभ्याउने सरसफाई र खानपान समयमा नहुने भएकाले शारिरीक तथा मानसिक रोगको शिकार पनि हुने गरेका छन् । सामाजिक सञ्जालमा अव्यवशायीक रुपमा लामो समय बिताउने व्यक्तिहरु क्षणिक मनोरञ्जनका लागि जोडिएका सम्बन्धहरु जटिल हुन पुग्छन् । जसकारण बिबाह भइसकेका दम्पतिबिच शंका उत्पन्न हुने पासवर्डका विषयलाई लिएर झै–झगडा हुने र सम्बन्धमा दरार आउने गर्दछ । सामाजिक संजालको दुरुपयोग कै कारण बाल विाह, बहु बिवाह र सम्बन्ध बिचछेदका घटना दिन प्रति दिन बढिरहेको प्रहरी रिपोर्टले नै देखाउँछ ।

सामाजिक सञ्जालका घटना यति सम्म कि श्रीमान या श्रीमती अरुसंग बोलेको, समयमा घर नआएको र आफु र परिवारलाइ पर्याप्त समय नदएको कारण घर झगडा हुने र अन्तमा सम्बन्ध नै टुट्ने गरेका घटना समाजमा सामान्य हुँदै गएको देखिएको छ । सामाजिक सञ्जालमा गलत फोटो भिडियो राख्ने र गलत टिका टिप्पणी गरेका कारण समाजमा आफ्नो बदनाम हुने डरले कतिपय किशोर बिद्यार्थीहरु आत्माहत्या गर्न समेत बाध्य हुने गरेका घटना पनि छन् ।

समय यति बदलि सक्यो कि मानिसमा मानवता हराउन थालिसक्यो । मानिसहरु दुर्घटना, आगोलागी, बाढीपहिरो जस्ता विपतमा परेका हुन्छन्, सहयोगका लागि हात हुदैन, घटना भएको ठाउमा मान्छे मररिहेका हुन्छन् उद्धार गर्नुको साट्टो हतारमा मोबाइल निकालेर सामाजिक सञ्जालमा लाइभ गर्न थाल्छन् । ठुलै पत्रकारले ब्रेकिङ न्युज दिए जस्तै यसले भोलीको दिनमा कस्तो असर देखाउला ? यस्ता घटनाले समाजमा माया, प्रेम, सहयोग र सद्भावको घाँटी रेटेको छ । यस्ता घटनाले अबका पुस्तालाई कुन बाटोका डोहोर्याउला सोच्न जरुरी छ ।

दिनरात मेहनत गरेर पढेर भोली देशका कर्णधार बन्नुपर्ने बालबालीकाहरु पढाईमा भन्दा मोवाइलमा फेसबुक चलाउन, युट्युबमा भिडियो हेर्न, गेम खेल्न र टिकटक भिडियो बनाउनमा आफ्नो समय खर्चिने गरेका छन् । बालबालिहरु स्वतन्त्र भएर खेल्ने कुद्ने समयमा मोबाइल फोनमा अधिक समय बिताउदा साथि–भाइसंग घुलमिल हुन खेल्न चाहँदैनन् र यसरी घर भित्र मोबाइल फोनमा समय बिताउदा कसरतको कमि हुने हुदा शारिरीक र मानसिक रोग लाग्न सक्ने सम्भावना रहनुका साथै यस्ता बालबालिका घरबाट बाहिर समाजमा आत्माविश्वासका साथ हिड्डुल गर्न सक्दैनन् । जसकारण भोली आइपर्ने चुनौतिको सामना गर्न कठिन हुन सक्छ । सामाजिक सञ्जालमा अपरिचितसंगको भेटघाटले बलात्कारका घटनासमेत भएका कुराहरु समाचारमा आईरहेका छन् ।

सामाजिक सञ्जालको गलत प्रयोगका कारण दिनानुदिन बढ्दै गएको साइबरक्राइमका मुद्धामा प्रहरीले कारबाही गर्ने गरेको छ । अर्काको फोटो जोडेर जथाभावी लेख्नेलाई प्रहरीले थुनेको छ । सामाजिक सञ्जालको सहि सदुपयोग गरौं, २१ औं शताब्दीको विश्वलाई जोड्ने प्रविधि बचाऔं ।