गण्डकी प्रदेश

मासु चिउरा खाजा खान पाएपछि बालबालिकालाई खुशी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आर्कषण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।

कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिएका छन् । दिवा खाजा कार्यक्रमबाट २१ विद्यालयका ६२८ छात्रछात्रा लाभान्वित भएका छन् ।

आर्थिक वर्ष ०७६÷०७७ को लागि रु २५ लाख विनियोजन भएकोमा पहिलो चैमासिकमा रु छ लाख ३३ हजार ७५० र दोस्रो चौमासिकमा रु आठ लाख ५० हजार ९२० बजेट निकासा गरिसकिएको उनले बताए ।

प्रत्येक विद्यालयमा जनप्रतिनिधिको निगरानी रहने गरी पत्रुखाना रहितको खाजाको व्यवस्था गरिएको छ । उनले भने, “कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन गर्दै आएका छन् ।”

खाजाको परिकारमा तरकारी चिउरा, चना अण्डा, र महिनामा एक दिन मासु चिउराको व्यवस्था हुनेछ । गाउँपालिकाबाट प्रतिविद्यार्थी रु १५ का दरले प्रदान गरिएको र अभिभावकसँग रु पाँच का दरले पैसा सङ्कलन गरिएको उनले जानकारी दिएका छन् ।

विद्यालयमा खान पकाउने सामग्रीको व्यवस्था गरी एक जना कर्मचारी खाजा बनाउने, खुवाउने र भाँडा माझ्नको लागि राखिएको छ । कार्यक्रम लागू भएका विद्यालयको समय समयमा अनुगमन गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले जानकारी दिए ।

विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय भएर भाग लिन सक्छन् भन्ने उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।