स्वास्थ्य

पाल्पामा गर्भवती र सुत्केरीलाई प्रभावकारी कार्यक्रम बनाउँदै

तानसेन । पाल्पाका गाउँपालिकामा फरक–फरक कार्यक्रमले गर्भवती तथा सुत्केरी महिलामा स्वास्थ्यको हेरचाह गर्न थप उत्साहित बनाएको छ । जिल्लाका केही गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा, गाउँपालिकामा हरियो झण्डा, अण्डा तथा जुवानोको झोल र पोषिलो खाना वितरण कार्यक्रमले महिलालाई स्वास्थ्य संस्थामै पुगेर सुरक्षित तरिकाबाट सुत्केरी हुने, आमा र बच्चाको स्वस्थ्यमा सहयोग पुगेको महिलाको धारणा छ ।

महिलाको गर्भवती अवस्थालाई मध्यनजर गर्दै हरेक बार खाना चारलगायतका नारा लिएर सागपात, गेडागुडी, पशुपक्षी पहेंला फलफूल खुवाउने कार्यक्रम जिल्लाका सबैजसो गाउँपालिकाले अघि सारेका छन् । पाल्पाको रम्भा गाउँपालिकामा पूर्णसंस्थागत सुत्केरी गाउँपालिका घोषणालगत्तै अहिले सुत्केरी भएका महिला तथा उनीहरुले जन्माएका नवजात शिशुको घर–घरमै पुगेर पनि तेस्रो, सातौँ दिन स्वास्थ्य जाँच तथा उपचार हुने गरेको रम्भाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।

चारपटक गर्भजाँच, गर्भावस्थामा १८० आइरन चक्की खुवाउन अनिवार्य जानकारी गराउँदै सचेतना बृद्धिमा जोड दिएका छन् । गत वर्ष गाउँपालिकाका पाँच बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थामा ३०९ महिला सुत्केरी भएका थिए । रम्भामा बालमैत्री स्थानीय शासन शुरु हुन लागेकाले कम उमेरमा गर्भवती हुने क्रममा न्यूनीकरण भएको छ । गाउँपालिकामा घरघरमै पुगेर गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य जाँचका लागि महिला स्वास्थ्य स्वयंसेविका, पोषण सहजकर्ता, बालमैत्री सहजकर्ता ११५ स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख अर्यालको भनाइ थियो ।

पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई रु एक हजार ५०० प्रदान गर्न थालेपछि महिलामा थप चेतना बढेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गाउँपालिकाले अब छिट्टै गरीब तथा अतिविपन्न परिवारलाई लक्षित गरी यातायात र सुत्केरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजना रहेको अध्यक्ष भण्डारीले स्पष्ट पारे ।

पाल्पाको निस्दि गाउँपालिकामा हरियो झण्डा, अण्डा वितरण र सुत्केरी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुरको धारणा छ । प्रत्येक गर्भवती महिलाको घरमा रहेको हरियो झण्डाका कारण पनि बच्चा र आमाको स्वास्थ्य अवस्था बुझ्न सहज भएको प्रमुख रेमबहादुरले बताए । आठ गाउँपालिका तथा दुई नगरपालिका रहेको पाल्पाको पूर्वखोला गाउँपालिकाले गर्भजाँच गर्ने महिलालाई अण्डा वितरण तथा बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थामै सुत्केरी हुने व्यवस्था गरेको छ । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेसँगै डर तथा लाजका कारण घरमै जोखिमपूर्ण सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको गाउँपालिकाले जनाएको छ ।

पूर्वखोला–१ को वडा कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई जुवानोको झोल तथा पोषणयुक्त खाना खुवाउने गर्दछ । कतिपय महिला आर्थिक अभाव तथा विकट भेग भएको हुनाले सुत्केरी हुँदा पोषणयुक्त खानामा ध्यान नदिने हुनाले वडाले यस्ता कार्यक्रम ल्याएको वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म पूर्ण संस्थागत सुत्केरी गाउँपालिका रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र बगनासकाली गाउँपालिका घोषणा भएका छन् । स्थानीयस्तरका विभिन्न सरकारले नयाँ योजना ल्याएसँगै नजिकका स्वास्थ्य केन्द्र, स्वास्थ्य संस्था तथा अस्पतालमा पुग्ने र गर्भ परीक्षण गर्ने महिला बढेका छन् । केही वर्षयता श्रीमान तथा सासुआमा, दिदीबहिनी तथा आफन्तसँग अस्पतालमा गर्भजाँच गर्न, परामर्श लिन तथा सुत्केरी हुनका लागि महिलाहरु अस्पतालसम्म आउने गरेको रामपुर अस्पतालका प्रमुख डा विजय परियारले जानकारी दिए ।

पहिले–पहिले घरमै सुत्केरी हुनुपर्छ भनेका महिला अहिले घरमा सुत्केरी हुँदा असुरक्षित भइन्छ भन्ने चेतना बढेको स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाको बुझाइ छ । उनले कतिपय लाज मान्ने, डराउने तथा केहीमा अज्ञानताका कारण केही वर्ष अघिसम्म महिला गर्भजाँच तथा सुत्केरी हुन अस्पताल नआउने गरेको सन्दर्भ सुनाए ।

पछिल्लो समय नेपाल सरकारले उनीहरुलाई सुत्केरी खर्चको व्यवस्था तथा स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाका कार्यक्रमले उनीहरुको स्वास्थ्यमा निगरानी बढाउन चेतना वृद्धि भएको संयोजक ढुङ्गानाले बताए । यी गाउँपालिकाबाहेक विषेश खालका कार्यक्रमले महिलाको स्वास्थ्य जाँच गर्न, नवजात शिशुलाई जोखिमबाट जोगाउन सजिलो भएको बेस नेपालअन्तर्गतको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सञ्जु परियारले बताए ।

नेपाल सरकारले प्रदान गर्नेबाहेक पनि रामपुर नगरपालिकाका विभिन्न वडामा अण्डा वितरण भइरहेका छन् । सुआहारा कार्यक्रमअन्तर्गत बेस नेपालले स्थानीयस्तरका स्वास्थ्य आमा समूहको बैठक सहजीकरण, गर्भवती महिला तथा छ महिना उमेर समुहका आमा र नवजात शिशुको हेरचाह, निगरानीसँगै अण्डा उपहार तथा स्थानीय उत्पादनबाट तयार पारेका खाना प्रदर्शनी कार्यक्रम गर्दै आएको बेस नेपालले जनाएको छ ।