खेलकुद

वडा नं ६ को टिमले जिते मेयर कप फुटबलको उपाधि 

काठमाडौ । बनेपा नगरपालिकाले आयोजना गरेको मेयर कप फुटबलको उपाधि वडा नं ६ ले जितेको छ । नगरपालिकाले ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासाथ माघ ७ गतेदेखि वडा नं १४ को व्यवस्थापनमा नेपाल प्रहरी विद्यालय साँगाको खेल मैदानमा भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

वडा नं ६ र ९ बीचमा भएको अन्तिम खेलमा वडा नं ६ ले तीन गोल गरेको थियो । वडा नं ९ ले भने एक गोल मात्रै फर्काउन सफल भएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका १४ वडाका गरी १६ समूहको सहभागिता थियो । विजयीले ६० हजार र दोस्रो हुने वडा नं ९ ले ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्वस्थ जीवनका लागि खेलकूदलाई प्राथमिकता दिने उद्देश्यले नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको नगरप्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले बताए